
काठमाडौं । जंगीअड्डामा बुधबार भएको बैठकमा जेनजी प्रतिनिधि नै विभाजित बनेका छन् । नेपाली सेनाको मुख्यालय प्रवेश गरेका १५ जनाभन्दा बढी जेनजी प्रतिनिधि देशको भविष्य गणतन्त्र वा राजतन्त्रको निर्णयमा स्पष्ट रूपमा २ ध्रुवमा बाँडिएका थिए ।
स्रोतका अनुसार जंगीअड्डाभित्र भएको छलफलमा एउटा पक्षले संघीयता र धर्मनिरपेक्षता हटाएर राजा फर्काउनुपर्ने प्रस्ताव राखेको थियो । अर्को पक्षले भने गणतन्त्रको विकल्प खोज्न नहुने र अहिलेको व्यवस्थालाई सुधार्दै अघि बढाउनु पर्ने तर्क राखेको थियो ।
वार्तामा सहभागी जेनजी युवाहरुले भने, ‘यो व्यवस्थाविरुद्धको आन्दोलन होइन । योबाट निकास खोज्ने आन्दोलन हो । गणतन्त्रलाई नै सुधार्दै अघि बढाउने पक्षमा हामी छौं ।’ सैनिक स्रोतले दिएको जानकारी अनुसार प्रधानसेनापति अशोकराज सिग्देलले प्रतिनिधिलाई वार्ताका लागि एकमत भएर आउन समय दिएका थिए ।
त्यस क्रममा जंगीअड्डाभित्रै एउटा हलमा प्रतिनिधिहरु छलफलमा बसे । जहाँ व्यक्तिगत विषय र सहित परिवारको प्राथमिकतासम्मको बहस चलेको जेनजी प्रतिनिधि बताउँछन् ।
वार्तामा सानो संख्यामा रहेका केही जेनजी युवाले तत्कालै संसदबाट निकास निकाल्नुपर्ने प्रस्ताव पनि राखे । तर, अधिकांशले अस्वीकार गरेका थिए । नेपाली सेनाले वार्ता सहजीकरण गर्ने मात्र भूमिका लिएको बताएको छ । सेनाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा दुर्गा प्रसाईंलाई समेत समेटेर सबै पक्षको कुरा सुन्ने प्रयास गरिरहेको छ ।
स्रोतका अनुसार जेनजी प्रतिनिधिको बैठक संसद विघटन र सडक प्रदर्शनको पृष्ठभूमिमा सम्पन्न भएको हो । सोमबार भएको प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा प्रदर्शनकारीको ज्यान गएको थियो । ४ सयभन्दा बढी घाइते भएका थिए ।
प्रदर्शनकारीले प्रशासनिक केन्द्रहरूमा आगजनी र तोडफोड गरेपछि सैनिक सूचना निर्देशनालयले ऐतिहासिक र राष्ट्रिय सम्पत्तिको संरक्षणमा सबैको साझा दायित्व रहेको जनाएको थियो ।
त्यसैबीच, जेनजीको भर्चुअल बैठकमा भावी प्रधानमन्त्रीबारे पनि छलफल भएको छ । ५ हजारभन्दा बढी सहभागी भएको बैठकमा सबैभन्दा धेरै समर्थन पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा देखियो ।
कार्कीलाई जेनजी तर्फबाट प्रधानमन्त्रीको अफर दिइसकिएको थियो । उनले लिखित समर्थनको संख्या मागेपछि २ हजार ५ सयभन्दा बढी हस्ताक्षर पाइसकेकी छन् ।
त्यसैगरी, कुलमान घिसिङ, सागर ढकाल, हर्क सामपाङलगायतको नाम पनि प्रधानमन्त्री पदको लागि चर्चामा छन् । तर, उनीहरु सबैले अरु कोही तयार नभएमा मात्र अघि सर्ने संकेत दिएका छन् ।
जंगीअड्डामा भएको जेनजी प्रतिनिधि बैठकले आन्तरिक मतभेद, गणतन्त्र–राजतन्त्र विवाद र भावी नेतृत्वको चयनमा चासो पैदा गरेको छ । वार्ता सहजीकरण गर्दै सैनिक नेतृत्वले देशको स्थायित्व सुनिश्चित गर्ने दिशामा संवाद जारी राख्ने जनाएको छ ।
सुशीला कार्कीको नेतृत्व प्रस्ताव
जंगीअड्डामा भएको जेनजी प्रतिनिधिको बैठकमा पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउन प्रस्ताव गरिएको छ । यो प्रस्ताव नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलसमक्ष पठाइएको छ ।
सैनिक स्रोतले भन्यो, ‘उहाँहरूले सम्माननीयज्यू (सुशीला कार्की)को नाम लिनु भएको छ । यद्यपि, अझै अर्को समूहसँग समेत कुरा भइरहेको छ ।’ सेनाले पूर्वप्रधानन्यायाधीश कार्कीसँग समेत संवाद गर्ने जनाएको छ ।
























