देउवामाथिको आक्रमण जघन्य अपराध : कोइराला

Share this
667shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २८, शनिबार १५:११

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठाएर ‘कांग्रेसजनको कांग्रेस’ बनाउँदै अगाडि बढ्नुपर्ने बताएका छन् ।

उनले देश नयाँ दिशातर्फ धकेलिएको वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेसले जनताको भरोसा र विश्वासलाई शिरोधार्य गर्दै काम गर्नुपर्नेमा जोड दिएका हुन् । डा. कोइरालाले हालैको जेनजी आन्दोलनले देशको राजनीतिक नक्सा बदलिदिएको उल्लेख गर्दै त्यसले देखाएको युवा उर्जालाई सकारात्मक ढंगले राष्ट्रिय भावनामा समाहित गर्नुपर्ने बताए ।

तर, आन्दोलनकै नाममा सार्वजनिक सम्पत्ति जलाउने, लुटपाट गर्ने, व्यक्तिको सम्मानमा चोट पुर्याउने र समाजमा त्रास सिर्जना गर्ने कुनै पनि गतिविधि सभ्य समाजले स्वीकार्न नसक्ने उनको भनाइ थियो । उनले विशेषगरी कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि घरभित्रै भएको आक्रमणलाई जघन्य अपराधको संज्ञा दिँदै यसको कठोर निन्दा गरे ।

‘लोकतान्त्रिक आन्दोलनमा अतुलनीय योगदान दिनुभएका सभापति देउवामाथि गरिएको हातपात र लुटपाट इतिहासकै घिनलाग्दो अध्याय हो । यसको जति भर्त्सना गरे पनि कम हुन्छ,’ उनले भने । डा. कोइरालाले पार्टीका पुराना नेता बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालगायतले लोकतान्त्रिक आन्दोलनमा देखाएको त्याग र संघर्षलाई स्मरण गर्दै नयाँ पुस्ताले त्यसबाट प्रेरणा लिनुपर्ने औंल्याए ।

पहाडदेखि तराईसम्मका नेता–कार्यकर्ताले ठूलो बलिदान र यातना सहेर पनि लोकतान्त्रिक समाजवादको दियो निभ्न नदिएको स्मरण गर्दै उनले कांग्रेसले फेरि पनि जनताको आशा पूरा गर्ने जिम्मेवारी लिनुपर्ने बताए । ‘हामीले विगतमा गल्ती गरेका छौं । जनअपेक्षा अनुरुप खरो उत्रन सकेनौं होला,’ उनले भने, ‘तर, त्यसको प्रायश्चित गर्न हामी पछि पर्दैनौं । कांग्रेसलाई नयाँ उत्साह र दृष्टिकोणसहित अगाडि लैजान्छौं ।’

उनले पार्टीभित्र नेतृत्व, संगठन र विचारमा नयाँपन आवश्यक रहेको दोहोर्याउँदै दसैंलगत्तै देशव्यापी बहस, छलफल र विवेकपूर्ण कदमका साथ जनतामाझ आउने घोषणा गरे । ‘युवाको आकांक्षा र समाजको परिवर्तन चाहनालाई राष्ट्रिय भावनामा ढाल्दै शक्तिशाली राष्ट्र निर्माणमा कांग्रेस अगाडि आउनु पर्छ भन्ने मेरो दृढ विश्वास छ,’ कोइरालाले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.