विराटनगरका सडकमा आवतजावत सहज बनाउँदै ट्राफिक प्रहरी

Share this
776shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २९, आइतबार १३:२१
 विराटनगरका सडकमा आवतजावत सहज बनाउँदै ट्राफिक प्रहरी

विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरलगायत मोरङको मुख्य सडक र भित्री सडकमा भएका अवरोधलाई ट्राफिक प्रहरीले हटाउन थालेको छ ।

आन्दोलनका क्रममा सडकमा फ्याँकिएका डिभाइडर, टायर बाल्दा बनेको फोहोर, जलेका गाडीलगायतका वस्तुले सडक अवरुद्ध भएपछि ट्राफिकको सक्रियतामा हटाउन थालिएको हो ।

सडकमा अव्यवस्थित रहेका डिभाइडर हटाउने, मिलाउने र सडक सफा गरेर सवारीसाधनलाई आवतजावतमा सहज बनाउने काम भइरहेको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए ।

उनका अनुसार विराटनगरबाट लामो दूरी र छोटा दूरीका सार्वजनिक सवारी तथा निजी सवारीसाधनहरू चल्न सुरु भएकाले सडक अव्यवस्थित हुँदा हुनसक्ने दुर्घटनालाई ध्यानमा राखेर सडक सफाइ अभियान चलाइएको छ ।

आन्दोलनका क्रममा ट्राफिकका अधिकांश संरचना भत्काइएको बताउँदै लम्सालले भने, ‘कार्यालय भवनदेखि कागजात र कार्यालयभित्र रहेका सामानमा क्षति पुगेको छ । कार्यालय प्रयोजनमा प्रयोग गरिएको ४ वटा मोटरसाइकलमा आगजनी गरिएको छ । रानीमा कार्यरत एक जना ट्राफिक प्रहरीको निजी मोटरसाइकलसमेत आन्दोलनकारीले जलाइदिए ।’

ट्राफिक प्रहरीका अनुसार कार्यालयमा बसेर काम गर्ने अवस्था छैन । आन्दोलनकारीले सबै संरचना तोडफोड गरेपछि बस्न मिल्ने छैन । प्रदर्शनकारीहरूले कागजपत्र, सीसी क्यामेराको हार्डडिक्स, युनिफर्म लगेका छन् । इन्स्पेक्टर लम्सालले भने, ‘कार्यालयभित्र के कति क्षति भयो भन्ने विवरण संकलन गर्न थालेका छौँ । सडकमा भएका अवरोधहरूलाई हटाएर सुचारु गरिएको छ । सवारीसाधनको चाप बढ्न थालेकाले सडकमा हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरण गर्नका लागि ट्राफिक प्रहरीले काम थालिसकेको छ ।’

कार्यालय अहिले जे जस्तो अवस्थामा छ, त्यस्तो अवस्थाबाटै सेवा प्रवाह सुरु गरिएको लम्सालले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.