आगजनीमा कार्यकर्ताको संलग्नता देखिए कारबाही गर्ने माओवादीको चेतावनी

Share this
663shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २९, आइतबार १९:३२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटका बारेमा नेकपा (माओवादी केन्द्र)ले औपचारिक प्रतिक्रिया जनाएको छ ।

पार्टी प्रवक्ता अग्नि सापकोटाले आइतबार विज्ञप्ति जारी गर्दै आफ्ना नेता–कार्यकर्ता त्यस प्रकारका गतिविधिमा संलग्न भेटिए कडाभन्दा कडा कारबाही गर्ने माओवादीको स्पष्ट अडान रहेको उल्लेख गरे । विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीसँग सम्बन्धित कोही कसैको संलग्नता देखिए हामी कडाभन्दा कडा कारबाही गर्न तयार छौं । तथ्य र प्रमाण फेला परे सरकारले पनि सख्त कारबाही गरोस् भनी आग्रह गर्दछौं ।’

सापकोटाले माओवादी कार्यालयहरू, पार्टी अध्यक्ष प्रचण्ड र अन्य नेता कार्यकर्ता तथा परिवारका घरमा भएको आगजनी तोडफोड जनताले देखेकै तथ्य भएको स्मरण गराउँदै आन्दोलनमा लोकतन्त्र र गणतन्त्र विरोधी शक्तिहरू घुसेर विध्वंस मच्चाएको आरोप लगाए । उनले त्यस्ता गतिविधिको कडा शब्दमा भर्त्सना गर्दै माओवादी कार्यकर्ता संलग्न रहेको भनी फैलाइएको प्रचारप्रति आपत्ति जनाएका छन् ।

उनले जेनजी पुस्ताले उठाएका मागबारे पार्टी अध्यक्ष प्रचण्डले नै स्पष्ट नीति र धारणा सार्वजनिक गरिसकेकाले त्यसबारे भ्रम सिर्जना गर्ने प्रयास अनुचित भएको बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.