सेनाको सुरक्षाबाट बाहिर निस्किँदै नेताहरु

Share this
673shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ३१, मंगलबार १३:०७

काठमाडौं । जेनजी आन्दोलन उग्र बन्दै जाँदा सुरक्षाका कारण सेनाको ब्यारेकमा आश्रय लिन बाध्य भएका अधिकांश शीर्ष नेताहरू अहिले धमाधम बाहिर निस्किन थालेका छन् ।

आन्दोलनको असर केही कम हुँदै गएपछि र अन्तरिम सरकार गठन भएसँगै सेनाले नेताहरूलाई ब्यारेकबाट फर्काउन सुरु गरेको हो । सैनिक स्रोतका अनुसार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सीमित नेताहरू मात्र अझै सेनाको कडाईका बीचमा रहेका छन् ।

अधिकांशलाई सुरक्षा व्यवस्थासहित आफ्नै वासस्थान वा वैकल्पिक स्थानमा पठाइएको छ । केही नेताको नयाँ बस्ने व्यवस्था मिल्न बाँकी रहेकाले उनीहरू अस्थायी रूपमा अझै सेनाको निगरानीमै रहेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार पार्टी कार्यालय पेरिसडाँडा पुगेर कार्यकर्तासँग भेटघाट समेत गरेका छन् । यता, नेकपा (एकीकृत समाजवादी)का नेता माधवकुमार नेपाल र अन्य नेताहरूलाई सिंहदरबारबाटै सेनाले सुरक्षित स्थानतर्फ लगेको थियो ।

त्यतिबेला निवर्तमान मन्त्रीहरूलाई समेत सेनाको हेलिकप्टरमार्फत ब्यारेकमा स्थानान्तरण गरिएको थियो । प्रधानमन्त्री ओलीलाई पनि बालुवाटारबाटै सेनाको हेलिकप्टरले सुरक्षित स्थानमा पुर्याइएको थियो ।

हाल आन्दोलन शान्त हुँदै जाँदा सेनाले नेताहरूलाई ब्यारेकबाट फिर्ता पठाउँदैछ । उनीहरूको सुरक्षा भने ‘भीआईपी सुरक्षा कार्यविधि’ अनुसार नै जारी राखिएको छ । खतरा बढी हुनेहरूलाई आवश्यक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ ।

यसबीचमा आन्दोलनका क्रममा उच्च तहका नेताहरूको निवास आक्रमण र आगजनी गरेर ध्वस्त पारिएको छ । परिणामस्वरूप उनीहरू आफन्त वा साथीभाइको घरमा बसिरहेका छन् भने केही नेताले डेरा लिएर बस्न थालेको सैनिक स्रोतले जनाएको छ ।

आन्दोलनको अराजक भिडले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि आक्रमण गरेको थियो । घाइते दुवै जनाको हाल उपचार जारी रहेको पारिवारिक स्रोतले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.