
विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जेनजी आन्दोलनका क्रममा घटेको घटनालाई नेपालको इतिहासमै अकल्पनीय र गम्भीर क्षति भनेका छन् ।
नेकपा (एमाले)का स्थायी कमिटी सदस्यसमेत रहेका कार्कीले यसको न्यायिक छानबिन गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । एमाले मोरङले विराटनगरमा मंगलबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले दोषीलाई कानुनी कारबाही गर्नुपर्नेमा जोड दिए ।
कार्कीले जेननी आन्दोलनलाई आवरण बनाएर षड्यन्त्रमूलक गतिविधि गरिएको भन्दै यसको विविध पाटाहरू क्रमशः खुल्ने बताएका छन् । उनले एकले अर्कोलाई प्रयोग गर्दा देशको सार्वभौमसत्तामै संकट ल्याउने अवस्था बनेको उल्लेख गर्दै घटनामा संलग्न जो कोहीले राष्ट्रिय सार्वभौमसत्तामाथि खतरा पैदा गरेको स्पष्ट पारे ।
पार्टी नेतृत्वको विषयमा उठेका प्रश्नबारे उनले पार्टीको वैधानिक प्रक्रियाबाटै छिनोफानो हुने बताए । संकटको बेलामा नेतृत्वलाई विभिन्न कोणबाट प्रहार भइरहेको उल्लेख गर्दै कार्कीले अहिले नेतृत्वको रक्षा गर्दै अघि बढ्नुपर्ने र आवश्यक भए नेतृत्व परिवर्तन पनि विधि र प्रक्रियाबाट हुने बताएका छन् ।
नेपाली कांग्रेस र एमाले दुवैलाई छानिछानी आक्रमण गरिएको भन्दै मुख्यमन्त्री कार्कीले दुवै पार्टी मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको औंल्याए । हालको सरकार संविधानविपरीत गठन भएको एमालेको ठहर रहेको बताउँदै उनले चुनावी प्रतिस्पर्धाबाट एमाले पछि नहट्ने प्रष्ट पारे ।
भदौ २३ र २४ गतेको घटनापछि पहिलोपटक कोशीमा एमालेले ठूलो संख्यामा अगुवा कार्यकर्ता उपस्थित गराएर भौतिक रुपमा भेला गरेको हो । भेलामा करिब ५ सय कार्यकर्ताहरू सहभागी थिए ।
भेलामा एमाले नेता विनोद ढकालले देशी विदेशी शक्तिका कारण अहिलेको घटना भएको टिप्पणी गर्दै पार्टीलाई आलोचना गर्ने भन्दा पनि संरक्षण गरेर सार्वभौमसत्ता जोगाउँदै अगाडि बढ्नुपर्ने बताए । उनले नेतृत्व परिवर्तनबारे आएका प्रश्न वैधानिक प्रक्रियाबाट मात्रै हल हुने र जेनजीको मागअनुसार पार्टीलाई रूपान्तरण गरेर लैजाने बताए ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य जीवन घिमिरे, युवराज बास्कोटा, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा लगायतका नेताले पनि आआफ्ना विचार राखेका थिए । कार्यक्रमको अवसरमा २० जना कार्यकर्ताले खुला छलफलमार्फत सुझाव दिएका छन् ।
यसैबीच, मुख्यमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बनेको मुख्यमन्त्री कार्यालयको मंगलबार स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणपछि उनले उच्च पदस्थ कर्मचारीहरूसँग छलफल गर्दै घटनाले प्रदेशमा ठूलो क्षति पुर्याएको बताए ।
उनले कर्मचारीलाई त्रासमुक्त भएर काममा फर्कन आग्रह गर्दै दसैंअघि नै कार्यालय सञ्चालनको सम्पूर्ण तयारी मिलाउन निर्देशन दिए । कार्कीले घटनालाई नेपालको इतिहासमै सबैभन्दा ठूलो भौतिक क्षतिको रूपमा चित्रण गरे ।

उनले भने, ‘विभिन्न राजनीतिक आन्दोलन र विरोध कार्यक्रम भए । तर, यति ठूलो र सर्वाधिक क्षति कहिल्यै भएको थिएन । यसले प्रदेशलाई ठूलो नोक्सान मात्र गरेको छैन, हामीलाई २० वर्ष पछाडि धकेलेको छ ।’ कार्कीले अब प्रदेश सरकार सञ्चालनमा आएको घोषणा गर्दै असोज २ गते मन्त्रिपरिषदको बैठक बसेर थप निर्णय हुने जानकारी पनि दिए ।
प्रदेश सरकारका सचिवहरूले मन्त्रालयगत क्षतिको विवरण प्रस्तुत गर्दै केही दिनभित्र बाँकी रहेको अवस्थाबाटै सेवा सुचारु गर्ने जानकारी दिएका छन् । कोशी प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेलले घटनापछि प्रदेशको समग्र वस्तुस्थिति बारे मुख्यमन्त्रीलाई जानकारी दिइन् ।
प्रदेश सरकारले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको क्षतिको प्रारम्भिक विवरण संकलन गरेको छ । विवरण अनुसार आगजनी एवं तोडफोडबाट प्रदेश सरकार मातहतका ४२ वटा भवन क्षतिग्रस्त भएका छन् ।
जसमध्ये १८ वटा भवन पूर्ण क्षतिग्रस्त भएका छन् भने २४ वटा भवनमा आंशिक क्षति पुगेको छ । त्यस्तै २ सय ३७ वटा सवारी साधन क्षतिग्रस्त भएका छन् । तीमध्ये ७५ वटा चारपांग्रे सवारी साधन क्षतिग्रस्त हुँदा ६४ पूर्णरूपमा नष्ट भएका छन् ।
सवारीसाधनमध्ये ११ मा आंशिक क्षति भएको छ । १ सय ६१ वटा मोटरसाइकलमा क्षति पुग्दा १ सय ४४ वटा पूर्णरूपमा नष्ट भएको र १७ आंशिक क्षतिग्रस्त भएको जनाइएको छ ।
मुख्यमन्त्री कार्कीले यस घटनाले प्रदेश सरकारलाई मात्र नभएर समग्र प्रदेशको विकासलाई नै दशकौं पछाडि धकेलेको बताए । उनले दोषीलाई कारबाही गर्न न्यायिक छानबिन अपरिहार्य रहेको स्पष्ट पारे ।
























