
काठमाडौं । संघीय संसद्का २ सदनको बैठक अब नयाँ बानेश्वरको संसद् भवनमा नबस्ने भएको छ ।
गत भदौ २३ र २४ गते देशभर चलाइएको जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको बानेश्वरको संसद् भवनको निरीक्षण गर्दै मन्त्रीहरूले पुरानै स्वरूपमा पुनर्निर्माण हुने भए पनि बैठक अब नयाँ भवनबाट सञ्चालन हुने जानकारी दिएका छन् । निरीक्षणपछि ऊर्जा, भौतिक तथा सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् भवनको काम आगामी पुससम्म सम्पन्न हुने बताए ।
नयाँ निर्वाचित हुने सांसदहरूले यही नयाँ भवनबाटै आफ्नो कार्यभार सम्हाल्ने उनले स्पष्ट पारे । मन्त्री घिसिङले बानेश्वरको पुरानो भवन पनि तत्कालै सरसफाइ र डिजाइन प्रक्रिया अघि बढाइ दीर्घकालीन योजना अनुसार पुनर्निर्माण गरिने बताए ।
संसद् भवनको निरीक्षणमा अर्थमन्त्री रामेश्वर खनाल, गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी थिए । उनीहरूले जेनजी आन्दोलनका क्रममा संसद् भवनलाई मुख्य निशाना बनाएर आगजनी गरिएको घटनाको समीक्षा पनि गरेका छन् ।
बानेश्वरको संसद् भवन पूर्ण रूपमा जलेर ध्वस्त भएको थियो । जसका कारण नयाँ भवनमा बैठक सञ्चालन गर्ने निर्णय गरिएको छ ।
























