
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको नाम दुरुपयोग गरी धम्की दिने प्रवृत्ति देखिएको भन्दै कारबाहीको चेतावनी दिएको छ ।
पार्टीका प्रवक्ता मनिष झाले बिहीबार विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनको माहोललाई उपयोग गर्दै केही समूह र व्यक्तिहरूले उद्योगी, व्यवसायी, न्यायालय र उच्च पदस्थ कर्मचारीलाई डर देखाउने, धम्की दिने तथा टेलिफोनमार्फत म्यासेज पठाउने कार्य भइरहेको जानकारी आएको बताएका छन् । विज्ञप्तिमा रास्वपाको यसप्रकारका गतिविधिसँग कुनै सरोकार नरहेको स्पष्ट पारिएको छ ।
प्रवक्ता झाले भने, ‘रास्वपाको नाममा भइरहेको यस्ता गैरकानुनी गतिविधिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । पार्टीको संलग्नता नभएकाले त्यस्ता कार्यमा संलग्न जो कोहीमाथि तत्काल छानबिन गरी कानुनी कारबाही गर्न हामी सम्बन्धित निकायसँग अनुरोध गर्दछौँ ।’ रास्वपाले हाल भइरहेको आन्दोलन र सामाजिक असन्तोषलाई गलत तरिकाले उपयोग गर्दै पार्टी र पार्टीका नेताहरूलाई जोड्ने कोसिस गरिएको भन्दै आपत्ति जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘जनताको आन्दोलनलाई कलंकित पार्ने, निजी स्वार्थ पूर्ति गर्ने र आतंक सिर्जना गर्ने उद्देश्यले हुने यस्ता प्रयास अस्वीकार्य छन् ।’ पार्टीले देशभरका समर्थक र सदस्यहरूलाई पनि यस्ता गतिविधिबाट सजग रहन आग्रह गर्दै रास्वपाको नाम दुरुपयोग गर्नेहरूमाथि कडाइका साथ कारबाही हुनुपर्नेमा जोड दिएको छ ।
























