
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सैनिक ब्यारेकबाट बाहिरिएका छन् ।
प्रधानमन्त्री पदबाट राजीनामा दिएलगत्तै गत भदौ २४ गतेदेखि सेनाको विशेष सुरक्षामा रहँदै आएका ओली बिहीबार बाहिर आएका हुन् । जेनजी आन्दोलनका क्रममा सुरक्षाको कारण देखाउँदै नेपाली सेनाले उनलाई सुरक्षा दिएर राखेको थियो ।
उनलाई भक्तपुरको गुण्डुमा आवासको व्यवस्था गरिएको छ । ओलीका लागि भाडाको घर समेत तयार पारिएको एमाले स्रोतले जानकारी दिएको छ ।
अन्दोलनकारीका नाममा अराजक समूहले बालकोटस्थित उनको स्थायी निवास आगजनी गरेर नष्ट पारेका थिए । घर जलाएपछि ओलीलाई गुण्डु सारिएको हो ।
स्रोतका अनुसार ओलीलाई ब्यारेकबाट गुण्डु पुर्याउने सम्पूर्ण पहल एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले गरेका हुन् । बस्नेतले ओलीलाई अब औपचारिक रूपमा भव्य समारोहमार्फत् सार्वजनिक गरिने तयारी भइरहेको बताएका छन् ।
























