
विराटनगर । जेन्जी आन्दोलनपछि कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक पहिलोपटक बिहीबार बसेको छ ।
बैठकले ५ लाख रुपैयाँसम्मका सबै योजना तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले बैठकले आन्दोलनमा सहभागी भएर ज्यान गुमाउने व्यक्तिका परिवारलाई काजकिरिया लागि प्रतिपरिवार १ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए
मन्त्री भण्डारीका अनुसार किरिया खर्च आन्दोलनमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई मात्र दिइनेछ । त्यसैगरी, मन्त्रिपरिषद् बैठकबाट आन्दोलनका क्रममा भौतिक पूर्वाधारमा भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने जिम्मेवारी भौतिक पूर्वाधार मन्त्रालयलाई दिइएको छ । मन्त्रालयलाई यस सम्बन्धी प्रतिवेदन कार्तिक ९ गतेभित्र पेस गर्न निर्देशन दिइएको छ ।
यसैबीच, मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आन्दोलनका क्रममा क्षति हुनबाट जोगिएको भवनमा कार्यकक्ष बनाएर बिहीबारदेखि नियमित काम सुरु गरेका छन् । कार्यकक्षमा नेपालको चुच्चे नक्सा राखेर उनले काम प्रारम्भ गरेका हुन् । मुमन्त्री कार्कीले अहिले सरकारको मूल एजेन्डा राष्ट्रिय स्वतन्त्रता र राष्ट्रिय एकता रहेको बताए ।
























