पूर्वराष्ट्रपति भण्डारीको टिप्पणी : ‘जेनजीको नाममा तोडफोड र हिंसा मच्चाइयो’

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ३, शुक्रबार १९:४२

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा शान्तिपूर्ण मागलाई ओझेलमा पार्दै हिंसा भड्काइएको आरोप लगाएकी छन् ।

प्रहरी अस्पताल पुगेर आन्दोलनमा घाइते भएका प्रहरी कर्मचारीलाई भेट्दै शुक्रबार उनले ठूलो भौतिक तथा मानवीय क्षति भएको बताइन् । उनले सुरक्षाकर्मीको आत्मबल बढाउने जिम्मेवारी राज्यले तत्काल लिनुपर्ने उनले बताइन् ।

भण्डारीले प्रहरीलाई आवश्यक पर्ने भौतिक संरचना र सामग्रीको अभाव तत्काल सम्बोधन गर्नुपर्ने धारणा पनि राखिन् । उनले २३ गतेको घटनालाई सामान्य आन्दोलनको रूपमा बुझिए पनि पछि जेनजीको आवरणमा लुटपाट, आगजनी र तोडफोड भएको दाबी गरिन् ।

‘शान्तिपूर्ण प्रदर्शन गर्ने भनिए पनि हिंसात्मक गतिविधि भयो । यसको गहिरो अध्ययन हुनैपर्छ,’ भण्डारीको भनाइ थियो । राष्ट्रिय सम्पत्तिमा विध्वंश मच्चाएर देशको विकास सम्भव नहुने उल्लेख गर्दै उनले आवेग र उत्तेजनाभन्दा माथि उठेर राष्ट्रिय भावना एवं सर्वोपरी हितलाई ध्यान दिन सबैलाई आग्रह गरिन् ।

बदला र प्रतिशोधले समाधान नआउने भन्दै उनले वार्ता र संयमता मात्र दीर्घकालीन बाटो भएको बताइन् । भण्डारीले आन्दोलनमा सहभागी युवा पुस्तालाई शान्तिपूर्ण ढंगले आफ्ना माग प्रस्तुत गर्न आग्रह गर्दै हिंसात्मक गतिविधिबाट उनीहरूकै भविष्य प्रभावित हुने उल्लेख गरिन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.