
विराटनगर । नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष कृष्ण बस्नेत (पर्शुराम) ले एमाले सधैँ संवैधानिक सर्वोच्चताको पक्षमा रहेको बताए ।
विराटनगरमा महासंघ विराटनगर महानगरपालिका कमिटीले संविधान दिवसको अवसरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै बस्नेतले पार्टी सधैँ संवैधानिक सर्वोच्चताको पक्षमा रहेकोले संविधानका लागि मर्न समेत तयार रहेको प्रस्ट्याए ।
उनले ०७२ सालमा एमालेको अग्रसरतामा संविधान निर्माण हुँदा संविधान निर्माण र घोषणा रोक्न लागेका अन्तर्राष्ट्रिय शक्ति एमालेलाई कमजोर बनाएर राष्ट्र एकता, स्वाधीनता, सार्वभौमसत्ताका विरुद्धमा चलखेल गर्ने खेलमा लागेको बताउँदै, त्यस विरुद्ध एमालेले एकताबद्ध ढंगले प्रतिकार गर्ने धारणा व्यक्त गरे ।
जेनजीको पवित्र आन्दोलनमा घुसपैठियाहरूले खेलेको भन्दै उनीहरूको पहिचान र कानुन अनुसार कारबाही हुनुपर्नेमा जोड दिए ।
एमाले केन्द्रीय सदस्य जीवन घिमिरेले नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान रहेकोले जेनजी पुस्ताले संविधानको अध्ययन गर्दै संविधानलाई जोगाउन भूमिका खेल्नु पर्ने बताए ।
घिमिरेले एमाले अध्यक्ष केपी शर्मा ओलीको अग्रसरतामा बनेको संविधान समावेशी, समानुपातिक र जनताको अधिकार सुनिश्चित गर्ने दस्ताबेज रहेकोले संविधान विरुद्धका गतिविधिलाई निस्तेज पार्नुपर्ने धारणा राखे ।
अन्तरक्रियामा बोल्दै एमाले मोरङका उपाध्यक्ष सागर थापाले जेनजी आन्दोलनमा विदेशी शक्तिको योजनामा विद्यार्थीलाई निधार र छातीमा गोली हानिएको बताउँदै आन्दोलनको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिए ।
त्यस्तै, एमाले महानगर अध्यक्ष बलराम गिरिले संविधानको रक्षा गर्दै संविधानको माध्यमबाट सुशासन, पारदर्शिता कायम गर्न सकिने बताए ।
खेलकुद महासंघका महानगर कमिटी अध्यक्ष जतिन ताम्राकारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेनजी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दीप प्रज्वलन गरे ।
























