ध्वस्त पारिएको निवासमा पुगेर भावुक बने डा. शेखर कोइराला, खरानीबाटै उठ्ने संकल्प

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ४, शनिबार १४:४२

विराटनगर । आगोले खरानी बनाएको विराटनगरको कोइराला निवास शनिबार फेरि एकपटक इतिहाससँग संवाद गर्ने स्थल बन्यो । जेनजी आन्दोलनको आवरणमा अराजक समूहले भदौ २४ गते आगजनी र तोडफोड गरेर कोइराला निवासलाई ध्वस्त बनाइएको छ ।

आगोले निवाससँगै नेपालको राजनीतिक उपलब्धिको लामो इतिहासलाई स्वाहा बनाइदियो । आगजनी र तोडफोडले ध्वस्त भएको घरमा नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला शनिबार पहिलोपटक पुगेका छन् ।

त्यहाँ अवलोकन गर्दै भत्किएको भित्तो, जलेको काठ र खरानी बनेको संरचनाबीच उभिएर उनले आफ्नै बाल्यकाल, लोकतान्त्रिक आन्दोलनको स्मृति र आजको राजनीतिक दायित्वको स्मरण गरे । विगतमा डा. कोइराला विराटनगर आउँदा समाचार संकलनका लागि पत्रकारहरु सिधै विराटनगर विमानस्थल पुग्ने गरेका थिए । तर, यसपटक कोइराला विमानस्थलबाट सिधै निवासतर्फ लागे ।

विमानस्थलमा सधैंजस्तो पत्रकारको भिड थिएन । तर, निवास परिसरमा कार्यकर्ता र सञ्चारकर्मीको बाक्लो जमघट थियो । उनी जब क्षतिग्रस्त घरतर्फ अघि बढे, वातावरण नै स्तब्ध भयो । नेपाली लोकतान्त्रिक आन्दोलनको थुप्रै अध्याय बोकिरहेको करिब सय वर्ष पुरानो घर खरानी भएको दृश्यले डा. कोइरालालाई भावुक तुल्यायो ।

‘म यहीँ जन्मिएँ, यही हुर्किएँ, यहीँबाट डाक्टर भएँ,’ भावुक हुँदै उनले भने, ‘यो घर केवल मेरो व्यक्तिगत सम्पत्ति थिएन, यो लोकतन्त्रकै धरोहर थियो । आज यो खरानी भयो, तर यहींबाट फेरि उठ्छौँ ।’ ऐतिहासिक घरको हविगत देखेर स्तब्ध एवं भावुक बनेका डा. कोइरालाले खरानीबाटै उठ्ने संकल्प भने गरेका छन् ।

कोइरालाले जेनजी आन्दोलनका नाममा भएको आगजनीलाई विनाशको घटना नभएर पुस्तागत असन्तोषको परिणामका रूपमा व्याख्या गरे । उनका अनुसार जेनजी पुस्ताले उठाएका प्रश्नलाई समयमै आत्मसात गर्न नसक्नु राजनीतिक दल र नेताको कमजोरी हो । ‘अहिले बनेको सरकार निर्वाचनका लागि मात्रै हो । अब संयमका साथ, दम्भ र डर बिना निर्वाचनमा होमिनुपर्छ,’ उनले भने ।

पत्रकारसँगको संवादमा उनले भदौ २३ र २४ गतेको आन्दोलनले संविधानलाई गम्भीर जोखिममा पारेको स्मरण गर्दै राष्ट्रपतिको भूमिका निर्णायक भएको बताए । संसद् विघटन संविधानसम्मत नभए पनि तत्कालीन परिस्थितिमा ‘ड्यामेज कन्ट्रोल’ भएको उनको तर्क थियो । ‘सबै कुरा संविधानसम्मत हुँदैनन् । तर, राष्ट्रपतिले न्यूनतम क्षति गरेर चुनावको बाटो देखाउनुभयो,’ उनले भने ।

उनले वर्तमान सरकारको एक मात्र दायित्व निष्पक्ष निर्वाचन गराउनु रहेको स्पष्ट पार्दै भने, ‘अब विकल्प छैन, चुनाव, चुनाव, चुनाव मात्र हो । यही बाटोबाट देशलाई ट्र्याकमा ल्याउनुपर्छ ।’ कोइरालाले आन्दोलनका क्रममा गोली नचलाउने आदेशबारे तत्कालीन प्रधानमन्त्रीको वक्तव्यदेखि देशभर फैलेको अराजकतालाई गम्भीरतापूर्वक छानबिन गर्नुपर्नेमा जोड दिए ।

‘काठमाडौं मात्रै नभएर ८ घण्टामा सारा देश नै जल्यो । यसको सत्यतथ्य बाहिर आउनैपर्छ । गम्भीर ढंगले छानबिन हुनुपर्छ,’ उनले भने । डा. कोइरालाले जेनजी पुस्तासँग प्रतिप्रश्न पनि गरे, ‘दुई दिनको आन्दोलनपछि तपाईंहरू पन्छिन सक्नुहुन्छ ? माग के थिए ? नेताको उमेरमाथि प्रश्न गर्दा मन्त्रिपरिषद्मा रहेकाको उमेर पनि हेर्नुपर्छ ।’ उनका अनुसार युवापुस्ताको असन्तोषलाई अब आत्मसात गरेर अघि बढ्नु सबै दलको जिम्मेवारी हो ।

कोइराला निवासमा उनले आफ्नो बाल्यकाल बिताएको कोठादेखि लोकतान्त्रिक आन्दोलनको केन्द्र बनेका कक्षसम्म निरीक्षण गरे । भित्तामा टाँसिएका पुराना चिन्हहरू, जलेका फर्निचर र भत्किएको संरचना हेरिरहँदा उनी स्तब्ध देखिन्थे ।

‘यो घर कृष्णप्रसाद कोइरालाले चन्द्रशमशेरलाई फाटेको भोटो पठाएको घर हो । यो केवल इँटा र ढुंगाको संरचना थिएन । लोकतन्त्रको प्रतीक थियो । आज जलाइयो, तर यहीँबाट नयाँ विगुल फुक्नेछौँ,’ उनको संकल्प थियो । उनले पार्टीभित्रको बहसलाई भन्दा चुनावलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए ।

‘नेपाली कांग्रेसको अन्तिम निर्णय केन्द्रीय समितिले गर्छ । अहिलेको प्राथमिकता नेतृत्व विवाद होइन । देशलाई सही बाटोमा ल्याउनु हो,’ उनले स्पष्ट पारे । प्रदेश खारेज वा प्रत्यक्ष निर्वाचित कार्यकारीजस्ता मागलाई तत्कालीन संविधानले स्वीकार नगर्ने भन्दै उनले संविधानमै आधारित भएर अघि बढ्नुपर्ने बताए ।

‘संविधानले जे दिन्छ, त्यही सीमाभित्रै जानुपर्छ । अहिलेको व्यवस्था तोडमोड गरेर हैन, निर्वाचनमार्फत जनमत लिएर मात्र सुधार सम्भव हुन्छ,’ उनले टिप्पणी गरे । शनिबारको दृश्य एउटा नेताको घर जलेको अवलोकन मात्र थिएन । त्यो नेपाली राजनीतिमा एक पुस्ताको आक्रोश, एक परिवारको पीडा र लोकतन्त्रप्रतिको पुनःसंकल्पको संगम थियो ।

डा. शेखर कोइरालाले खरानीबीच उभिएर व्यक्त गरेका शब्दहरूमा भविष्यको राजनीति र लोकतन्त्रप्रतिको विश्वास दुवै झल्किन्थ्यो । डा. शेखरको कुराले घर जले पनि लोकतन्त्रको ज्योति कहिल्यै निभ्दैन भन्ने सन्देश दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.