विराटनगर । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा भेटिएको भनिएको नोटका विषयमा छानविन हुनुपर्ने महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् । अनुमानका भरमा चर्चा–परिचर्चा गर्नुभन्दा पनि अनुसन्धानको नतिजालाई स्वीकार गर्नुपर्ने बताउँदै उनले छानविन गर्न माग गरेका हुन् ।
जेनजी आन्दोलनका क्रममा अराजक समुहले आगजनी गरेको कोइराला निवासमा सोमबार आइपुगेका शर्माले पत्रकारहरुसँगकाे कुराकानीमा देउवा निवासमा भेटिएकाे भनिएकाे जलेका नाेटका विषयमा राज्यका निकायले छानविन गरिरहेको बताए ।
जेनजी आन्दोलनका क्रममा अराजक समूहले आगजनी गरेकाे सभापति शेरबहादुर देउवा निवासमा डढेका नाेटहरू फेला परेका थिए ।
महामन्त्री शर्माका अनुसार, यो विषय कांग्रेसका जिल्ला सभापतिहरूको बैठकमा पाल्पाका सभापति हिमाल श्रेष्ठ र इलामका सभापति डम्बर खड्काले सभापति निवासमा भेटिएको नोटका विषयमा प्रश्न उठाएका थिए । त्यसबेला पनि आफूले यसलाई(नोटका विषयमा) स्पष्ट पार्ने दायित्व सम्बन्धित (घरवाला) को भएको बताएको उनले दाबी गरे ।
उनले यो विषय वस्तुगत अनुसन्धान राज्यले नै गर्नुपर्ने बताए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगायतका राज्यका निकायहरूले यस विषयमा अनुसन्धान गरिरहेको पनि उल्लेख गरे । ‘निष्पक्ष रुपमा भएको अनुसन्धानको तहतबाट आएको जे विषय हुन्छ, त्यो विषयलाई हामी सबैले मानेर जानुपर्छ, महामन्त्री शर्माले भने ।आफूले टेलिफोन सम्पर्क गरेर सभापतिलाई यो विषयमा ध्यानाकर्षण पनि गराएको उनले बताए । ‘यसलाई स्पष्ट गर्ने दायित्व घरवालाकै हो, स्पष्ट गर्ने कुरा उहाँहरुले गर्नुपर्छ । मैले ध्यानाकर्षण पनि गराइसकेको छु,’ उनले भने,‘ यसलाई राज्यले अनुसन्धान गरेर हेर्ने हो, आशंका मात्रै हुन सक्छ । सत्य हुन सक्छ भन्ने कुरा त हामीले अनुमानका भरमा भन्ने कुरो भएन । यसलाई बस्तुगत हेर्ने दायित्व राज्यको हो ।’
जलेका नोट भेटिएको विषयमा सम्पति सुद्धिकरण विभागले अनुसन्धान गरिरहेको छ । सभापति शेरबहादुर देउवाको सचिवालयले भने नाेट भेटिएको भनिएको तस्बीर र भिडियो बास्तविक नभएको बताएको छ ।