सञ्चारकर्मीले नै पाए सञ्चार मन्त्रालयको जिम्मेवारी

Share this
769shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ६, सोमबार १९:२२

काठमाडौं । मन्त्री नियुक्त भएका जगदीश खरेल सञ्चारकर्मी (पत्रकार) हुन् । २ दशकभन्दा बढी समयदेखि सञ्चारकर्ममा सक्रिय रहेका उनले अन्ततः सञ्चार मन्त्रालय सम्हाल्ने अवसर पाएका छन् ।

टेलिभिजन स्क्रिनमा प्रश्न सोधेर चिनिएका खरेल अहिले आफू प्रत्यक्ष जवाफ दिने ठाउँमा पुगेका हुन् । उनले अचानक मुलुकको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन् । जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारका मन्त्री बन्नु उनको जीवनकै ठूलो मोड बनेको छ ।

दोलखाको कालिञ्चोक गाउँपालिकाको सुनखानी भदौरेमा २०३९ साल साउन २२ गते खरेल जन्मिएका हुन् । स्थानीय कालीनाग माध्यमिक विद्यालयबाट एसएलसी पास गरेपछि उनले काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसमा अध्ययन थाले । त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका उनले अहिले अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि गरिरहेका छन् ।

पत्रकारिता यात्रा उनले इमेज ग्रुपअन्तर्गतको इमेज एफएमबाट सुरु गरेका थिए । ३ वर्ष रेडियोमा काम गरेपछि २०५९ सालदेखि इमेज टेलिभिजनमा लागे र त्यहाँको समाचार कक्ष, कार्यक्रम निर्माणदेखि समाचार प्रमुखसम्मको जिम्मेवारी सम्हाल्दै आए ।

पछिल्लो समय भने उनले ‘हटसिट’ नामको लोकप्रिय टक शोमार्फत आफ्नो ‘इमेज’ अझै बलियो बनाएका थिए । राजनीतिज्ञ, न्यायाधीश, प्रशासक रसामाजिक अभियन्ता लगायतमाथि उनले खरो प्रश्न राख्थे । कतिपय बेला उनका प्रश्नकै क्लिप सामाजिक सञ्जालमा भाइरल हुन्थे ।

उनै खरेललाई सोमबार बिहान राष्ट्रपति कार्यालयमा मन्त्री पदको शपथ खुवाइएको छ । आइतबारसम्म समाचार कक्षमा सम्पादकको भूमिकामा रहेका उनी भोलिपल्टै पत्रकारहरूको प्रश्नको केन्द्रबिन्दु बने । शपथग्रहणपछि मन्त्रालय पुगेका उनले पहिलो पत्रकार सम्मेलनमा भने, ‘खरानी र धुलो टकटक्याउँदै जनतालाई अनुभूत हुनेगरी केही पक्कै गर्छौं ।’

उनले आफू मन्त्री भए पनि कर्मचारीतन्त्रको भूमिकामाथि विश्वास राख्ने बताए । ‘सचिवज्यू, तपाईंको मन्त्रालयका सबै कर्मचारी अनुभवी हुनुहुन्छ । तपाईंहरूले काम अघि बढाउनुस् । मन्त्रीको तर्फबाट एक ठाउँमा पनि हस्तक्षेप हुँदैन । म तपाईंबाट सिक्छु,’ उनले प्रतिबद्धता जनाए ।

सञ्चार मन्त्रालय सजिलो मन्त्रालय होइन । प्रेस स्वतन्त्रता, सामाजिक सञ्जाल नियमन, डेटा सुरक्षा, साइबर अपराध नियन्त्रणदेखि लिएर ग्रामीण क्षेत्रमा इन्टरनेट र डिजिटल पहुँच पुर्याउनेजस्ता गहन चुनौतीहरू यससँग गाँसिएका छन् । जेनजी आन्दोलनकै एउटा मूल प्रश्न सामाजिक सञ्जाल दर्ता र नियमनसँग जोडिएको थियो ।

जुन मुद्दाले नै यो अन्तरिम सरकार जन्माएको हो । त्यसैले खरेलमाथि पहिलो दृष्टि यही विषयमा केन्द्रित हुने निश्चित छ । पत्रकारका रूपमा प्रश्न गरिरहने उनले अब आफूले सोधेका प्रश्नहरूको जवाफ खोज्ने जिम्मेवारीमा आएको बताए । ‘मैले पत्रकारितामा वर्षौं अनेकौं प्रश्न सोधेँ । आज मलाई एउटा ऐतिहासिक जिम्मेवारी आएको छ । अब मैले सोधेका कतिपय प्रश्नहरूको जवाफ आफैं खोज्ने समय आएको छ,’ उनले भने ।

खरेल पत्रकारिता मात्र नभए सामाजिक क्षेत्रमा पनि सक्रिय छन् । उनले सञ्चालन गरेको ‘टक अफ द टाउन’ नामक कार्यक्रमले सरसफाइ, विपद् व्यवस्थापन र सामाजिक विषयलाई उठान गरेको थियो । साथै, उनको आफ्नै कम्पनी मिडिया हेल्पलाइनमार्फत पनि मिडियासम्बन्धी गतिविधि गर्दै आएका छन् ।

प्रधानमन्त्री सुशीला कार्की स्वयं पनि खरेलको ‘हटसिट’मा पटक–पटक उपस्थित भएकी थिइन् । त्यही स्क्रिनमा प्रश्न–जवाफ गर्ने २ जना अहिले एउटै मन्त्रिपरिषद्मा पुगेका छन् । जवाफ दिने प्रधानमन्त्री हुँदा प्रश्न गर्ने मन्त्री बनेका छन् ।

खरो र शालीन हिसाबले प्रश्न गर्ने शैली, निरन्तर अध्ययन गर्ने बानी र छलफलमा रमाउने स्वभावका कारण पत्रकारिता वृत्तमै अलग्गै पहिचान बनाएका खरेल अहिले राजकीय जिम्मेवारीमा प्रवेश गरेका छन् । प्रश्न सोध्ने व्यक्ति जब जवाफ दिनुपर्ने ठाउँमा पुग्छ, अनि उसको वास्तविक परीक्षा सुरु हुन्छ नै ।

नेपालको राजनीतिक इतिहासमा धेरैजसो सञ्चारमन्त्रीहरू विवादमा तानिएका उदाहरण छन् । खरेलले त्यो इतिहासलाई उल्ट्याउन सक्छन् कि सक्दैनन् भन्ने चासो बढेको छ । चुनावी सरकार भएकाले मतदातासँग सरकारको सन्देश पुर्याउने जिम्मेवारीसहित प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धता र डिजिटल युगका चुनौतीहरूसँग जुध्ने क्षमताजस्ता आधारमा उनको मूल्यांकन हुनेछ ।

सोध्ने पत्रकारबाट जवाफ दिने मन्त्रीमा रुपान्तरण भएको यो कथा अहिले मुलुकको मुख्य राजनीतिक चर्चाको विषय बनेको छ । जगदीश खरेलका लागि यो यात्रा सजिलो नहोला । तर, आफैँले भनेझैं ‘देश पहिला, जनता पहिला’ भन्ने भावनासहित उनी अघि बढे भने ‘हटसिट’बाट सुरु भएको यो कथाले मन्त्रीको कुर्सीमा पनि सफलता प्राप्त गर्नेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.