प्रदेशसभा बैठक कक्ष ।विराटनगर । प्रदेशसभा भवन र सचिवालयमा आगजनी भएपछि कोशी प्रदेशसभा बैठक सञ्चालन अनिश्चित बनेको छ । प्रदेशसभाको जारी अधिवेशन स्थगीत छ । जेनजी आन्दोलनका क्रममा अराजक समूहले भवन नै जलाएपछि बैठक अनिश्चित बनेको हो ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी प्रदेशसभा बैठक सञ्चालनका लागि भवन खोजी भइरहेको बताउँछन् । प्रदेशसभा सचिवालयका लागि पनि वैकल्पिक स्थानको खोजी भइरहेको छ ।
मंगलबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सर्वदलीय छलफल भएको थियो । छलफलमा कटहरीको कृषि बजार, विराटनगरको वीरेन्द्रसभा गृह मध्ये एउटामा बैठक सञ्चालन विकल्प प्रस्तुत भएपनि निर्णय भने भएन् । ‘ वीरेन्द्रसभागृह र कृषि बजारको कुरा आएको छ, प्रदेशसभा व्यवस्थापन समितिले अध्ययन गरी प्रतिवेदन पेश गर्ने निष्कर्षमा पुगेका छौं,’ उनले भने, ‘ अन्य विकल्पको पनि खोजी हुन्छ ।’
अन्य विकल्पको रुपमा विराटनगर बाहेकका स्थान पनि हुनसक्ने उनले बताए । प्रदेशसभा बैठक बोलाउने विषयमा दसैँपछि छलफल हुने उनले बताए ।
कोशी प्रदेशसभा सचिवालयका निमित्त सचिव गौतमराज अमात्मका अनुसार प्रदेशसभा र प्रदेशसभा सचिवालय नै सार्नुपर्ने अवस्था छ । सभा र सचिवालयका लागि कृषि बजार उपयुक्त हुनसक्ने उनले बताए । तर, कटहरी फलफूल तथा कृषि थोक बजार कटहरी गाउँपालिका मातहतमा छ ।
विराटनगरको गुद्री बजारलाई स्थानान्तरण गरी व्यवस्थित गर्ने उद्देश्यले संघीय सरकारअन्तर्गतको व्यावसायिक कृषि तथा व्यापार आयोजनाले तरकारी बजार निर्माण गरेको थियो ।
१४ करोड लागतमा विराटनगर महानगरपालिकासँगै जोडिएको कटहरी गाउँपालिका– १ जम्टोकीमा निर्माण भएको ‘कटहरी फलफूल तथा कृषि थोक बजार’मा विराटनगरका व्यापारी नगएपछि साप्ताहिक हाट लाग्छ । यो बजार उद्घाटनपछि २०७५ चैत ३ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चालनका लागि प्रदेश सरकारलाई हस्तान्त्रण गरेका थिए । तर, प्रदेश सरकारले सञ्चालन गर्न नसकेपछि कटहरी गाउँपालिकालाई जिम्मा लगाएको थियो ।
























