
जनकपुर । नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बिहान जनकपुरमा बसेको कांग्रेस प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री सतिसकुमार सिंहको नेतृत्वमा रहेको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
बैठकपछि संसदीय दलका नेता कृष्णा यादवले सांसदहरूको सुझावअनुसार सरकारमा बसिरहनुपर्ने औचित्य नरहेको ठहर गर्दै समर्थन फिर्ता लिइएको जानकारी दिए । उनका अनुसार जनमत पार्टी आफ्नै नेतृत्वको सरकारबाट बाहिरिएपछि कांग्रेस पनि सत्ता साझेदारीमा बस्न नसक्ने निष्कर्षमा पुगेको हो ।
यादवले भने, ‘अब हामी औपचारिकरूपमा प्रदेश प्रमुखलाई पत्र पठाएर सरकारबाट बाहिरिनेछौँ । पार्टीबाट मन्त्री बनेकाहरुलाई पनि फिर्ता बोलाउने तयारी भइरहेको छ ।’ करिब १६ महिनादेखि सत्ता साझेदारीमा रहेको कांग्रेस औपचारिक रूपमा मधेश सरकारबाट बाहिरिने भएको हो ।
यसअघि भदौ २८ गते जनमत पार्टीले प्रदेश प्रमुखलाई पत्र बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । ४ दलको गठबन्धनबाट बनेको सरकार जनमत र कांग्रेस दुवैको समर्थन गुमाएपछि अब मुख्यमन्त्री सिंहसँग एमाले र लोसपाको मात्र साथ बाँकी छ । सत्ता समीकरण फेरिएसँगै मधेस प्रदेशको राजनीति पुनः अस्थिर मोडतर्फ धकेलिएको छ ।
























