प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको सम्बोधनमा के छ ? हेरौं पूर्णपाठ

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ९, बिहीबार १९:४४

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार साँझ सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै आगामी प्रतिनिधिसभा निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेकी छन् ।

प्रधानमन्त्री बनेपछि राष्ट्रका नाममा गरेको यो उनको पहिलो सम्बोधन हो । सम्बोधनमा उनले सरकारको प्राथमिकता निर्वाचनमा रहेको उल्लेख गर्दै आगामी फागुन २१ गते तय भएको निर्वाचनलाई सफल बनाउन सबै नागरिकलाई सक्रिय सहभागिताको आह्वान गरिन् ।

उनले विशेषतः युवा पुस्ताले उठाएका सुशासन र भ्रष्टाचारविरुद्धका मागहरूलाई संविधानसम्मत तरिकाले सम्बोधन गर्ने प्रतिबद्धता जनाइन् । कार्कीले विगतमा भएका भ्रष्टाचार प्रकरणहरूको छानबिन गरिने स्पष्ट गर्दै सरकारी निकायमा ‘विना झन्झट’ सेवा प्रवाहको व्यवस्था मिलाइने बताइन् ।

सेवाग्राहीलाई ढिलासुस्ती, घुस माग्ने, मोलमोलाइ गर्ने वा अपमानजनक व्यवहार गर्ने कर्मचारीविरुद्ध कडा कारबाही हुने उनले चेतावनी दिइन् । उनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान गर्ने अधिकार सुनिश्चित गर्न उपायहरूको खोजी भइरहेको जानकारी पनि दिइन् ।

संविधान संशोधन सम्बन्धी विषय वर्तमान सरकारको कार्यक्षेत्रमा नभए पनि निर्वाचनमार्फत निर्वाचित हुने नयाँ संसद्ले त्यसबारे निर्णय गर्ने उनले स्पष्ट पारिन् । प्रधानमन्त्री कार्कीले हालैको जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडप्रति खेद प्रकट गर्दै दोषीलाई कानुनी दायरामा ल्याउने दृढता दोहोर्याइन् ।

उनले आन्दोलनमा उठाइएका कतिपय मागहरू संविधान संशोधनमार्फत मात्रै सम्बोधन गर्न सकिने भएकाले निर्वाचनमा सक्रिय सहभागितामार्फत त्यसलाई अघि बढाउन आग्रह गरिन् । उनले सामाजिक न्याय, विधिको शासन, पारदर्शिता र जवाफदेहितालाई वर्तमान सरकारका मुख्य एजेन्डा बनाइने जिकिर गर्दै सुशासन स्थापना गर्न कडाइका साथ काम गर्ने प्रतिवद्धता प्रकट गरिन् ।

प्रधानमन्त्री कार्कीको सम्बोधनले आगामी निर्वाचनलाई लिएर नागरिकलाई विश्वस्त पार्ने प्रयास गरेको देखिन्छ । निर्वाचन निष्पक्ष हुने आश्वासन, भ्रष्टाचारविरुद्ध कडा अडान र युवाका मागप्रति संवेदनशीलता प्रदर्शन गर्दै उनले सरकारको दृष्टिकोण सार्वजनिक गरेकी छन् ।

यस्तो छ सम्बोधनको पूर्णपाठ

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.