
काठमाडौं । जेनजी आन्दोलनका चर्चित अभियन्ता मिराज ढुंगाना शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटघाट गरी अनौपचारिक कुराकानी गरेको प्रधानमन्त्री निवास स्रोतले जनाएको छ ।
जेनजी आन्दोलनको तयारी क्रममा सामाजिक सञ्जालमार्फत सक्रिय देखिएका ढुंगाना आन्दोलन सुरु हुनुअघि विवादमा तानिएका थिए । आन्दोलनको अघिल्लो दिन उनी दुर्गा प्रसाईंको निवासमै पुगेपछि आलोचना चुलिएको थियो ।
ढुंगानाले भने आफू प्रसाईंलाई आन्दोलनमा नआउन सम्झाउन गएको प्रष्ट्याएका थिए । तर, उनी भदौ २३ र २४ गते सडकमा देखिएनन् ।
उनले त्यस दिन केही युवाबाट ‘विरोध हुने’ चेतावनी पाएपछि आन्दोलनमा सहभागी नभएको बताएका छन् । साथै, आफ्नै फूलको व्यवसायमा व्यस्त रहेकाले सडकमा ननिस्किएको उनको भनाइ छ ।
आन्दोलनपश्चात् सुदन गुरुङ आकस्मिक रूपमा जेनजी आन्दोलनको मुख्य अनुहार बने । उनले सैनिक हेडक्वाटरदेखि शीतल निवाससम्म पुगेर ध्यान खिचे भने हालसम्म पनि सत्ता र शक्तिकेन्द्रहरूसँग उनको पहुँच देखिन्छ ।
सोही कारण सुदनमाथि आन्दोलन ‘हाइज्याक’ गरेको आरोप समेत लाग्दै आएको छ । ढुंगाना भने लामो समय सार्वजनिक रूपमा ओझेलमा रहे ।
उनले आफूलाई धम्कीका कारण आन्दोलनमा उपस्थित हुन नसकेको दाबी गर्दै आएका थिए । तर, पछिल्लो समय उनी फेरि सार्वजनिक गतिविधिमा देखिन थालेका छन् ।
























