
विराटनगर । यसअघि २ दिनसम्म चलेको जेनजी आन्दोलनको भुमरीले थलिएको कोशी प्रदेश प्रहरी अहिले चाडपर्व लक्षित सुरक्षातर्फ उन्मुख भएको छ । चाडपर्वको सिजन सुरु भएसँगै प्रहरीले सक्रियता बढाएको हो ।
कोशी प्रदेशमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर प्रहरीले लागू गरेको छ । तर, प्रहरी अझै पनि जेनजी आन्दोलनको अकल्पनीय धक्काबाट पूर्णरूपमा उकासिएको छैन । कोशी प्रदेशमा पनि भदौ २३ र २४ गतेको आन्दोलनबाट प्रहरीले ठूलो क्षति बेहोर्नु परेको थियो ।
आन्दोलनमा मिसिएर घुसपैठ गरेको अराजक समूहले प्रहरी कार्यालयमा आगजनी, तोडफोड र लुटपाटदेखि प्रहरीलाई आक्रमणसमेत गरेको थियो । आगजनी र तोडफोडबाट प्रदेशमा ५६ वटा प्रहरी भवन ध्वस्त भए । ८४ वटा सवारीसाधन जले ।
आन्दोलनकै क्रममा प्रहरीका हतियारसमेत लुटियो । केही हतियार फिर्ता भए पनि लुटिएका धेरैजसो हतियार अझैसम्म फेला परेका छैनन् । काम गरिरहेको ठाउँबाट दजनौं युनिटका प्रहरी विस्थापित हुँदा सुरक्षात्मक सेवा प्रवाहमा अवरोध सिर्जना भयो ।
यसै पृष्ठभूमिमा चाडपर्व सुरक्षाको चुनौती पनि प्रहरीलाई थपिएको छ । दसैँ लागिसकेको छ । तिहार र छठजस्ता चाडपर्व नजिकिँदै छन् । आन्दोलनको आगोमा पिल्सिएसँगै मनोबल कमजोर बनेको प्रहरीलाई नियमित शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानसँगै चाडपर्व सुरक्षाको चुनौती पनि थपिएको हो ।
आन्दोलनपश्चात् क्षतिग्रस्त भवन, साधन–स्रोतको कमीसँगै ठूला चाडपर्वलाई शान्तिपूर्ण र सुरक्षित बनाउनुपर्ने दायित्व प्रहरीको काँधमा छ । प्रहरीले विशेष गरेर धेरै भिडभाड हुने स्थान, सार्वजनिक स्थलहरु, मठमन्दिर तथा तीर्थस्थल, बैंक एवं वित्तीय संस्था, व्यापारिक प्रतिष्ठान र शंकास्पद स्थानमा निगरानी बढाएको छ ।
नेपाल–भारत सीमा क्षेत्रमा कडाइ गर्दै प्रहरीले सबैतिर चेकजाँच तीव्र पारेको छ । कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी दीपक पोखरेल चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना बनाउँदै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको बताउँछन् ।
‘पिकेट, पैदल गस्ती, साइकल गस्ती, मोटरसाइकल गस्ती, मोबाइल गस्ती र सादा पोसाकमा प्रहरी तैनाथ गरिएको छ,’ उनले भने, ‘यसरी निगरानी बढाउँदा सम्भावित अपराध र विकृतिलाई नियन्त्रण गर्न सजिलो हुन्छ ।’ चाडपर्व केन्द्रित प्रहरीले चोरी, झैझगडा, जुवातास, मादक पदार्थ सेवन (मापसे), आतसबाजी, पटका, सडक दुर्घटना र महिला–बालबालिकामाथि हुने दुर्व्यवहारलाई प्रमुख सुरक्षा चुनौतीका रूपमा लिएको छ ।
चाडपर्वमा मानिसहरु घर छाडेर टीका लगाउन, आफन्त भेटघाट र घुमफिरमा जाने गरेका छन् । त्यस्तो अवस्थामा खाली घरलाई लक्षित गरेर चोरी हुने सम्भावना बढ्ने प्रहरीको भनाइ छ । प्रहरीले घर छाडेर जानु पर्दा छिमेकीदेखि प्रहरीसम्मलाई जानकारी गराउन, घरमा सीसी क्यामेरा जडान गर्न र आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।
‘चाडपर्व भनेको रमाइलो गर्ने समय हो । तर, त्यो संयमित र सुरक्षित हुनुपर्छ,’ एसएसपी पोखरेल भन्छन्, ‘जुवातास जस्ता गैरकानुनी क्रियाकलाप नगर्नुहोस् । मादक पदार्थ सेवनपछि हुने दुर्घटना वा झगडा रोक्न सजग रहनुहोस् ।’ उनका अनुसार आतसबाजी र पटकाले त्रास सिर्जना गर्नुका साथै सम्पत्तिको नोक्सानी र नेपाली मुद्रा विदेशिने परिस्थिति सिर्जना गर्ने भएकाले त्यस्ता गतिविधि बन्द गर्नुपर्छ ।
जेनजी आन्दोलनले दिएको चोट अझै पूर्ण रूपमा निको भइसकेको छैन । भौतिक संरचना नष्ट भएकाले प्रहरीका धेरै युनिट अस्थायी रूपमा अन्यत्र राखिएको छ । मर्ज गरिएका १ हजार ७१ युनिटमध्ये अधिकांश पुनःस्थापित भइसकेका छन् । बाँकी ७९ युनिटलाई पनि क्रमशः पुरानै अवस्थामा ल्याउने तयारी भइरहेको पोखरेलको भनाइ छ ।
‘साधन–स्रोतमा कमी भए पनि सेवा प्रवाहमा कुनै अवरोध नआउने गरी हामी क्रियाशील छौँ,’ प्रवक्ता पोखरेलले भने, ‘यसका लागि जनसहभागिता, सूचना प्रवाह र सहयोग अपरिहार्य हुन्छ ।’ प्रहरीले भिडभाड हुने बजार, मेला, मठमन्दिर, सुनचाँदी पसल, राजमार्ग र सार्वजनिक स्थललाई संवेदनशील क्षेत्रका रूपमा पहिचान गरेको छ ।
संवेदनशील ठाउँमा अतिरिक्त निगरानी राखिएको र गोप्य गस्तीमार्फत ‘अन द स्पट’ अपराध नियन्त्रणको रणनीति अपनाइएको उनको भनाइ छ । सार्वजनिक यातायातमा पाकेटमारी, महिला–बालबालिकामाथि दुर्व्यवहार हुन सक्ने भएकाले यात्रुहरुलाई समेत सचेत रहन आग्रह गरिएको पोखरेल बताउँछन् ।
जेनजी आन्दोलनपछि प्रहरी संगठनलाई समाजसँग विश्वास पुनःस्थापना गर्ने अतिरिक्त चुनौती पनि छ । आन्दोलनले प्रहरीलाई भौतिक मात्रै नभएर मनोवैज्ञानिक रूपमा पनि दबाबमा पारेको छ । तर, चाडपर्वमा शान्ति सुरक्षा कायम गर्न सफल भए प्रहरीप्रति नागरिकको भरोसा बलियो बन्ने अपेक्षा गरिएको छ ।
कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले दशैं, तिहार र छठलाई अपराधरहित बनाउन प्रहरीलाई चौबीसै घण्टा सक्रिय गराइएको बताए । ‘जनताले आफ्नो घर, सम्पत्ति र व्यक्तिगत सुरक्षामा जिम्मेवार बन्दै आवश्यक सूचना दिँदा प्रहरीले प्रभावकारी सुरक्षा दिन्छ,’ उनले भने ।
डीआईजी कार्कीका अनुसार चाडपर्वका बेला यात्रुको सहजताका लागि प्रदेशका १४ वटै जिल्लामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । सहायता कक्षले दसैँलगायतका चाडपर्व मनाउन घर आउने यात्रुको गुनासा र चुनौती पहिचान गरेर सम्बोधन गर्ने उनको भनाइ छ । त्यस्तै, भारतबाट आउने नेपालीमाथि लुटपाट र अभद्र व्यवहार हुनसक्ने सम्भावनालाई मध्यनजर गरेर नेपाल–भारत सीमा नाकामा समेत यात्रु सहायता कक्ष राखिएको उनले बताए ।
नाकामा खटिने प्रहरीले ‘काउन्टर पाट्स’सँग समन्वय गरेर सर्वसाधारणको सुरक्षामा ध्यान दिने छ । ‘सुरक्षामा मद्धत गर्नका लागि सबैतिर जनशक्ति थप गरेर प्रहरी परिचालन व्यापक गरिएको छ । भयरहित, सुरक्षित र हर्षोल्लासपूर्वक हिसाबले चाडपर्व मनाउने वातावरण तयार गर्न प्रहरीले प्रदेशभरि सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त राखेको छ,’ कार्की भन्छन् ।
चाडपर्वका बेला नागरिकलाई सचेत हुन् आह्वान गर्दै सुरक्षा सचेतना सम्बन्धी सन्देशहरु सबै जिल्लामा पठाएर प्रहरी सक्रियता बढाएको उनको भनाइ छ । ‘चाडपर्वमा रमाइलो गर्ने नाममा जथाभावी गर्न भएन । नागरिक आफैं पनि सचेत हुनुपर्छ । विशेष गरेर व्यक्तिगत सुरक्षामा ध्यान दिनुपर्छ । कुनै घटना हुन लागेमा वा शंकास्पद गतिविधि भएमा तत्काल प्रहरीलाई सूचना दिनुपर्छ । प्रहरीले शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउँछ,’ डीआईजी कार्कीले भने ।
जेनजी आन्दोलनको पृष्ठभूमि, त्यसले पुर्याएको असर र वर्तमान तयारीलाई हेर्दा यसपालिका चाडपर्व धार्मिक–सामाजिक पर्व मात्र नभएर प्रहरीको परीक्षणको घडी पनि बन्न पुगेको छ । ‘आन्दोलनपश्चात् क्षतिग्रस्त संरचना र साधन स्रोतको कमीलाई पार लगाउँदै सुरक्षामा सफलतापूर्वक खडा हुन प्रहरी तयार छ,’ कार्कीले भने, ‘कोशी प्रदेशमा शान्तिपूर्ण र सुरक्षित चाडपर्व मनाउने वातावरण बनाउँछौं ।’


















