
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवालयमा ३ जना सल्लाहकार नियुक्त गरेकी छन् ।
प्रधानमन्त्री पदमा बहाल भएको ३ साता बित्न लाग्दासमेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको अवस्थामा उनले सचिवालयलाई भने सुदृढ बनाउँदै सल्लाहकार टिम विस्तार गरेकी हुन् ।
प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन् । खनाल लामो समय पत्रकारितामा सक्रिय रहेका थिए ।
त्यसैगरी, सल्लाहकार तथा प्रमुख स्वकीय सचिवमा आदर्शकुमार श्रेष्ठ नियुक्त भएका छन् । कानुनका विद्यार्थीसमेत रहेका श्रेष्ठले न्यायपालिकामा लामो समय काम गरेका छन् ।
उनले ३ जना पूर्वप्रधान न्यायाधीश रामकुमार साह, कल्याण श्रेष्ठ र सुशीला कार्कीकै निजी सहायकको रूपमा कार्य अनुभव हासिल गरिसकेका छन् ।
यस्तै, जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमिल्सिना नियुक्त भए । उनी ‘थापा फाउन्डेसन’ का अध्यक्षसमेत हुन् ।
सो संस्था विवेकशील नेपाल पार्टीका संस्थापक दिवंगत उज्ज्वल थापाको सम्झनामा स्थापना गरिएको हो ।
प्रधानमन्त्री कार्कीले मन्त्रालय गठनमा ढिलाइ भइरहे पनि सचिवालयलाई व्यवस्थित गर्दै आफ्नो कार्यशैलीलाई प्रभावकारी बनाउन सल्लाहकार नियुक्ति गरेको बताइएको छ ।
























