गुण्डुबाट सरकारविरुद्ध खनिए ओली : ‘असंवैधानिक सरकारले देशलाई अस्थिर बनाइरहेको छ’

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २३, बिहीबार १९:०५

भक्तपुर । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली वर्तमान सरकारविरुद्ध खनिएका छन् । असंवैधानिक र अलोकतान्त्रिक रुपमा बनेको सरकार स्वीकार्य नभएको उनले स्पष्ट पारे ।

नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले गुण्डुमा बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सरकार संविधानसम्मत नभएको बताउँदै ओलीले सरकारका क्रियाकलापहरू लोकतान्त्रिक र कानुनी राजसँग मेल नखाने तथा देशलाई अराजकताकतर्फ धकेल्ने खालको भएको आरोप लगाए । ओलीले आफ्नो सम्बोधनमा भने, ‘अहिले देशको परिस्थिती असाधारण र असामान्य रहेको छ । किनकि देशमा सरकार त छ, तर संविधानअनुसार बनेको छैन । बलमिचाइँले यो सरकार बनेको छ ।’

उनले सुशीला कार्कीले शपथग्रहणसँगै संसद् भंग गर्ने सर्त राखेर प्रधानमन्त्री पद स्वीकार्न खोजेको आरोप लगाए । संविधान र सर्वोच्च अदालतसँग सम्बन्धित विषयसमेत उठाउँदै ओलीले नेपालको संविधानले पूर्वन्यायाधीश वा सर्वोच्च अदालतका न्यायधीशलाई कुनै पनि सरकारी लाभको पदमा बस्न नदिने स्पष्ट प्रावधान रहेको बताए ।

सरकारविरुद्ध प्रत्यक्ष आपत्ति जनाउँदै ओलीले सामाजिक–राजनीतिक विखण्डन र उपद्रवका घटना भएको बताए । जेनजीका आन्दोलनलाई लिएर पनि आफ्नो धारणा राख्दै ओलीले भने, ‘जेनजी लगायत सम्पूर्ण युवाहरूको भावना यस देशमा कानुनी राज हुनुपर्छ, सुशासन हुनुपर्छ, भ्रष्टाचार नियन्त्रण हुनुपर्छ भन्ने हो । मैले भनीसकेको छु — सम्पत्ति छानबिन गर । एकपटक होइन, दशपटक गर ।’

ओलीले भ्रष्टाचार र राज्य व्यवस्थामा देखिएका अनियमितता सम्बन्धमा नक्कली आयोग बनेको भन्दै खण्डन गरे । उनले भने, ‘पहिले नै केपी ओलीलाई समाउनुपर्छ, थुन्नुपर्छ, मुद्दा लगाउनुपर्छ भन्ने मान्छेहरूले आयोग बनाएर छानबिन गरेको नाटक गरे । त्यो नाटक नेकपा (एमाले)ले स्वीकार्दैन ।’ उनले आयोग नक्कली र नाटकीय रूपमा बनाइएको आरोप लगाए ।

हालको संकट र सरकारको कानुनी वैधता नहुँदा देशमा आतंक र अस्थिरता फैल्याउने प्रयास भइरहेको ओलीको आरोप थियो । उनले सरकारी निर्णय र कार्यले पर्यटन, उद्योग र अर्थतन्त्रमा नराम्रो असर पुगेको दाबी गर्दै विदेशी भ्रमण र भिसा सम्बन्धी असर तथा होटल र एयरपोर्टमा भएका आक्रमण र आन्तरिक संरचनाको ध्वंसप्रति चिन्ता प्रकट गरेका छन् ।

‘होटेल जलाइयो, एयरपोर्टमा आक्रमण भयो, टुरिस्टमाथि आक्रमण भयो । यसले नेपालको पर्यटन र अर्थतन्त्रमा दीर्घकालीन असर पार्नेछ,’ उनले भने । ओलीले आफू नेतृत्वको सरकारले सामाजिक सञ्जाल र सूचना प्रवाहका सम्बन्धमा लिइएका कदमहरुको व्याख्या गर्दै भने, ‘सामाजिक सञ्जाल व्यवसायिक क्रियाकलाप भए दर्ता र कर दायित्व हुनुपर्ने भएकोले त्यसलाई राष्ट्रिय स्वाभिमानको सवाल बनाइएको हो । कसैले देशलाई हेप्ने स्थिति स्वीकार्य हुँदैन ।’

सत्ताविरुद्धको आन्दोलन र सडक सचेतनाका घटनाहरूमा ओलीले ती आन्दोलनकारी युवाहरूलाई मात्र दोष नठान्ने गरी राजनीतिक र संरचनागत कारणहरूलाई उजागर गरेका छन् । उनले भदौ २३ र २४ गते भएका प्रदर्शनका घटनाहरूमा गोलीकाण्ड, आगजनी र तोडफोडको तथ्य उल्लेख गर्दै भने, ‘२३ गतेको गोलीकाण्ड, २४ गतेको आगजनी, तोडफोड र लुटपाटका लागि आधार बनाइएको थियो ।’

उनले यसै घटनाहरूलाई सरकारले राजनीति र दलहरूको विरुरुद्ध आरोप लगाउन प्रयोग गरेको बताए । उनले नेताहरुमाथि दमन नहोस् भन्दै चेतावनीसमेत दिए । ओलीले तत्काल संसद् पुनर्स्थापना हुनुपर्ने माग दोहोर्‍याउँदै राजनीतिक दलहरूलाई एकसाथ आउन आह्वान गरेका छन् ।

‘अब हामीले देशलाई सही बाटोमा फर्काउन असंवैधानिक रूपमा विघटित संसद् तत्काल फिर्ता हुनुपर्छ भनी माग गर्नुको विकल्प छैन,’ उनले भने । उनले नेपाली कांग्रेस र अन्य लोकतान्त्रिक शक्तिहरूले यही मार्ग अपनाउने विश्वास व्यक्त गर्दै राष्ट्रिय सहमति आवश्यक भएकोमा जोड दिए ।

सम्पत्ति छानबिन तथा भ्रष्टाचार सम्बन्धी क्रियाकलापको प्रतिवेदन र स्वतन्त्र अनुसन्धानका लागि ओलीले चुनौती दिएका छन् । ‘तपाईंहरूको सम्पत्ति छानबिन गराउन आँट गर्नुहुन्छ ?’ उनले प्रश्न गरे । भ्रष्टाचार सम्बन्धी आरोपहरू सार्वजनिक रूपमा छानबिन हुनुपर्ने र नक्कली आयोगको नाटक स्वीकार्य नभएको उनले बताए ।

ओलीले कानुनी र नैतिक मापदण्डका सवाल उठाउँदै सम्बन्धित पक्षले नैतिकताको आधारमा जवाफ दिनुपर्ने आवश्यकता औँल्याए । विशेष गरेर जेनजीलाई सम्बोधन गर्दै ओलीले उनीहरूलाई सचेत, संगठित र निर्भीक हुन आह्वान गरेका छन् । ‘युवाहरू धेरै बाँच्नुपर्छ, गम्भीर हुनुपर्छ । देशको अस्तित्व खतरामा छ । त्यसलाई जोगाउन युवा परिचालन आवश्यक छ,’ उनले भने ।

ओलीले विश्व मञ्चमा नेपालको प्रतिष्ठामा लागेको सम्भावित नोक्सानी र अन्तर्राष्ट्रिय सम्बन्धमा पर्ने असरप्रति पनि चिन्ता व्यक्त गरे । ‘संयुक्त राष्ट्रसंघ र विभिन्न मुलुकहरूले हाम्रो स्थितिलाई कसरी हेर्छन् ?,’ उनले प्रश्न गरे । सबै कुराको निकास संविधान, संसद् र कानुनी प्रक्रियाबाट खोजिनुपर्ने उनको धारणा छ ।

ओलीले अहिलेको सरकारले असंवैधानिक, अलोकतान्त्रिक र राष्ट्रहितविरोधी कदम चालिरहेको आरोप लगाउँदै संसद् तत्काल फिर्ता हुनुपर्ने, सम्पत्ति छानबिन र भ्रष्टाचारविरुद्ध कडा कदम चालिनुपर्ने तथा लोकतान्त्रिक शक्तिहरूले एकजुट भएर अगाडि बढ्नुपर्ने जोड दिएका छन् । यसरी संघर्ष नगरे देश ध्वस्त हुने तर्क राख्दै उनले नागरिक र राजनीतिक नेतृत्व दुवैतर्फ सचेतना र सक्रियता आवश्यक भएको बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.