
काठमाडौँ । प्रतिनिधिसभा विघटनको विषयमा प्रमुख दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले फरक–फरक धारणा सार्वजनिक गरेका छन् । सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलसँग बुधबार गरेको छलफलमा यस्तो विरोधाभास देखिएको हो ।
सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा भएको छलफलमा दलका प्रमुख सचेतक तथा नेताहरूले आ-आफ्नो धारणा राखेका थिए ।
छलफलमा सहभागी विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले पार्टीले विघटनलाई असंवैधानिक माने पनि लोकतान्त्रिक दल भएकाले निर्वाचनबाट नभाग्ने बताए ।
सर्वोच्च अदालतमा रिट पुगिसकेको जानकारी आएको बताउँदै घिमिरेले सर्वोच्चको व्याख्या र आदेशलाई सम्मान गर्दै सरकारले घोषणा गरेको निर्वाचनको तयारी पनि थाल्ने बताए । सर्वोच्च अदालतले पुनर्स्थापना गर्ने निर्णय गरे पनि सम्मान गर्ने उनको भनाइ थियो ।
नेकपा (एमाले) का विघटित प्रतिनिधिसभामा प्रमुख सचेतक महेश बर्तौलाले भने देशलाई संवैधानिक मार्गमा ल्याउन प्रतिनिधिसभा पुनर्स्थापना आवश्यक रहेकोमा जोड दिए ।
बर्तौलाले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार निर्वाचन गराउने बाटोमा नरहेको र गृह प्रशासन नै राजनीतिक दलका नेतालाई गिज्याउँदै हिँड्न थालेको आरोप लगाए । उनले लुटेका हतियार ल्याउन सरकारलाई चासो नभएको भन्दै निर्वाचन गराउने अवस्था नभएकाले पुनर्स्थापना जरुरी रहेको बताए ।
नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले भने पार्टीले निर्वाचनमा जाने निर्णय गरिसकेको र आफूहरू सोही तयारीमा रहेको जानकारी गराए । सभामुख देवराज घिमिरेले संसद् पुनर्स्थापनाको विषयमा राजनीतिक दलका नेताहरूसँग राय माग्न यो बैठक बोलाएका थिए ।
























