
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि नेकपा (एमाले)सँग मिल्ने इच्छा व्यक्त गरेका छन् । एकतापछि एमाले–माओवादी केन्द्र विभाजित भएका थिए ।
प्रचण्डले फेरि मिल्नसक्ने संकेत गरेका हुन् । तर, ओली हट्नुपर्ने सर्त राखेका छन् । केपी शर्मा ओली नेतृत्वमा रहेसम्म एकता सम्भव नरहेको उनले बताए ।
धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा संयोजक प्रचण्डले तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्ने जानकारी प्रचण्डले दिए ।
एमालेसँग एकताको सम्भावनाबारे बोल्दै उनले भने, ‘केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन । तर, ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ ।’
कार्यक्रममा सहभागी युवा तथा नेता कार्यकताहरूसँगको छलफल गर्दै प्रचण्डले युवा पुस्ताले माओवादीको विचार र मार्गदर्शनलाई सही ठहर गर्न थालेको पनि बताए ।
























