
काठमाडौं। नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुर्नस्थापनाको एजेन्डा अहिले गौण भइसकेको बताएका छन्।
शुक्रबार बिहान चितवनको भरतपुरस्थित कृष्णपुरमा रहेको जिल्ला पार्टी कार्यालय प्राङ्गणमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा एमालेबाहेकका सबै राजनीतिक दलहरू अब चुनावमा जान सहमत भइसकेको दाबी गरे।
उनले एमालेभित्र पनि बहुमत पक्ष चुनावको पक्षमा रहेको उल्लेख गर्दै भने, ‘ढिलोछिटो सबै दल चुनावमा जान्छन्।’ संयोजक प्रचण्डले देशको वर्तमान राजनीतिक अवस्थामा निर्वाचनबाहेक अर्को उत्तम विकल्प नरहेको पनि दोहोर्याए।
संयोजक प्रचण्डले पछिल्लो समय सामाजिक सञ्जालमार्फत संगठित भएको युवा आन्दोलनलाई नयाँ राजनीतिक चेतनाको संकेतको रूपमा लिएको बताए। उनले युवाहरूले उठाएका विषयहरू विगतदेखि माओवादीले उठाउँदै आएका मागहरूसँग मेल खाने बताए।
‘युवाहरूले उठाएका मागहरू हाम्रो आन्दोलनसँग अभिन्न छन्,’ उनले भने, ‘हाम्रो पार्टीले आरम्भदेखि उठाउँदै आएको भ्रष्टाचारविरोधी अभियान अहिलेको जेनेरेसन जेडको स्वर बनेर प्रस्तुत हुनु गौरवको कुरा हो।’
ओलीको भूमिकाको आलोचना
प्रचण्डले पुस २३ गते राजधानीमा भएको आन्दोलनको क्रममा देखिएको गम्भीर सुरक्षा लापरवाहीलाई घटनाको मुख्य कारण ठहर गर्दै तत्कालीन प्रधानमन्त्री तथा सरकार प्रमुखको भूमिकाको कडा आलोचना गरे।
‘युवाहरूको आन्दोलन विशुद्ध शान्तिपूर्ण थियो। तर सरकारले सुरक्षा संयन्त्रको तयारी नगरेको र संवेदनशीलतापूर्वक व्यवहार नगरेकाले स्थिति हिंसात्मक बन्यो,’ उनले भने। गोली प्रहार हुँदा कलेज ड्रेसमा रहेका युवाहरूको टाउको र छातीमा लक्षित गरिनु अन्तर्राष्ट्रिय रूपमा नै लज्जास्पद बनेको उनको भनाइ थियो।
उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वलाई लक्षित गर्दै विगतका गल्तीहरूबाट कुनै आत्मसमीक्षा नभएकोमा आक्रोश व्यक्त गरे। ‘उनको कारण यति धेरै जनधनको अत्यधिक क्षति भयो। तर आज पनि कुनै पश्चाताप छैन,’ उनले भने।
























