
काठमाडौँ। नेकपा (एमाले) को जारी केन्द्रीय कमिटीको १० औँ बैठकमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम जारी छ। बैठकमा हालसम्म विचार व्यक्त गर्ने बहुमत सदस्यले पार्टीले जनताका समस्या तत्काल सम्बोधन गर्नुपर्ने, जेनजी आन्दोलनपछि बदलिएको जनमानसमा ध्यान दिनुपर्ने र नेतृत्व परिवर्तनको विषय महाधिवेशनमा मात्र उठाउनुपर्नेमा जोड दिएका छन्।
केन्द्रीय सदस्य मोहम्मद हारुनले जेनजी आन्दोलनको नाममा एमालेलाई कमजोर देखाउने प्रयास गलत रहेको बताए। ‘देशमा एमाले, प्रदेशमा एमाले, जिल्लामा एमाले, पालिकामा एमाले, टोलमा एमाले छ,’ उनले भने, ‘तर कसरी एमाले कमजोर छ भन्ने भाष्य खडा गरिँदैछ। यो गलत भाष्यलाई चिर्न सबै पार्टी पंक्ति परिचालित हुनुपर्दछ।’ हारुनले अहिले नेतृत्व परिवर्तनको बहस गर्न नहुने भन्दै केपी ओलीको नेतृत्व देशलाई अझै आवश्यक रहेको धारणा राखे।
अर्की केन्द्रीय सदस्य मेनुका काफ्लेले २०४८ साल यताका नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग उठाइन्। उनले पार्टीले छुट्टै आयोग बनाएर नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने हो भने जेनजी माग सम्बोधन हुनुका साथै पार्टीमा समेत शुद्धीकरण हुने विश्वास व्यक्त गरिन्।
केन्द्रीय सदस्य रमेश बडालले मङ्सिरमा महाधिवेशन प्रस्ताव गरिए पनि मुलुकको राजनीतिक परिस्थितिका कारण चैतभन्दा यता हुनसक्ने सम्भावना नदेखिएको बताए। उनले विद्यालयलाई शान्ति क्षेत्र बनाउने नाममा विद्यार्थीलाई राजनीतिबाट अलग्गै राख्दा ठूलो राजनीतिक रिक्तता देखिएको र त्यसको फाइदा अरूले उठाएको भन्दै यसमा पार्टीले पुनर्विचार गर्नुपर्ने बताए।
केन्द्रीय सदस्यहरू मोहनमाया ढकाल र महम्मद समिरले नेतृत्व परिवर्तनको बहस अहिले बेमौसमको बाजा भएको बताएका छन्। यस्तै, केन्द्रीय सदस्य यज्ञबहादुर सुनुवारले पार्टीको आन्तरिक एकता मजबुद बनाउनुपर्नेमा जोड दिए भने महेश बर्तौला ले संसद् पुनर्स्थापना र राष्ट्रिय सरकार गठनमा जोड दिएका छन्।
पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकको दोस्रो दिनको खाना ब्रेकअघिसम्म ६७ जना केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखिसकेका छन्। कम्तीमा १०० जना सदस्यले धारणा राख्ने कार्यसूची रहेको बैठक भोलि (शुक्रबार) समापन गर्ने तयारी छ।
























