
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा हालको अवस्थामा चुनाव सम्भव नभएको बताएका छन् ।
उनले जेलबाट भागेका अपराधीहरू पक्राउ नपरेसम्म र लुटिएका हतियार फिर्ता नआएसम्म चुनाव गर्नै नसकिने दाबी गरेका हुन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार आयोजित एमाले सम्पर्क समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले देशमा शान्ति–सुव्यवस्था अस्तव्यस्त रहेको र सरकारले नियन्त्रण गुमाएको आरोप लगाए ।
उनले प्रश्न गर्दै भने, ‘प्रहरीका १२ सय हतियार लुटिएका छन्, १ लाख गोली हराएका छन्, साढे ५ हजार कैदीबन्दी अझै फरार छन् । के यस्तो अवस्थामा चुनाव हुन्छ ?’ अपराधीहरू प्रहरीको बर्दीमै हातहतियार बोकेर चुनावमा आउने तयारी भइरहेको आशंका उनको छ । उनले सरकार र अपराधीबीच कुनै ‘सम्झौता’ भएको हो कि भनेर प्रश्नसमेत उठाए ।
काठमाडौं उपत्यका छोड्न नदिने मौखिक आदेशबारे बोल्दै ओलीले आफूलाई रोक्न खोज्ने प्रयास असंवैधानिक भएको दाबी गरे । ‘म नेपालभित्र जहाँ आवश्यक पर्छ, त्यही जान्छु। कुन कानुनले मलाई थुन्छ, कुन लोकतन्त्रले रोकिन्छ ? हेरौंला ।’ उनले सरकारप्रति आक्रोश पोखे । मौखिक आदेशको भरमा दलहरूलाई सीमित पारेर चुनाव गर्न खोज्नु लोकतान्त्रिक अभ्यासविपरीत भएको उनको भनाइ थियो ।
अध्यक्ष ओलीले यो सरकार संविधान र कानुनले नचिनेको दाबी गर्दै भने, ‘यो सरकार आगजनी, तोडफोड र लुटपाटबाट जन्मिएको हो । जनताको घरमा आगो लगाएर बनाइएको यो सरकारले देशलाई अराजकतातिर धकेलेको छ ।’ उनले जनताको सहभागिताविना बनेको सरकारलाई १ प्रतिशतले पनि समर्थन नगरेको जिकिर गरे ।
ओलीले भने, ‘फागुन २१ मा चुनाव हुँदैन । सरकारले दलहरूसँग संवाद गर्दैन, दमन गर्छ, अनि चुनाव गर्छ रे । यो केवल नाटक हो ।’ उनले संसद् पुनर्स्थापना नै अहिलेको एक मात्र विकल्प रहेको दाबी गरे ।
ओलीले जनताको असुरक्षा बढ्दै गएको र सरकारले प्रहरी संस्था नै जोखिममा पारेको आरोप पनि लगाए । उनले भने, ‘प्रहरी हाम्रै हो, त्यसको रक्षा गर्नुपर्छ। यो सरकारले त्रास सृजना गरेको छ, अब सुरक्षा आफैंले गर्नुपर्ने अवस्था आएको छ ।’ देशलाई अस्थिर बनाउने शक्ति अन्ततः पराजित हुने भन्दै ओलीले एमालेकै अगुवाइमा देशमा अझै शान्ति र स्थायित्व कायम गर्न बाँकी रहेको दाबी गरे ।
























