ओलीको सिफारिसमा सुशीला प्रधानमन्त्री बनिन्, जेनजी हाम्रो उत्तराधिकारी हुन् : प्रचण्ड

Share this
761shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १, शनिबार १७:३०

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै सिफारिस रहेको दाबी पुनः दोहोर्‍याएका छन् ।

शनिबार पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघको चियापान तथा शुभकामना कार्यक्रममा बोल्दै उनले भने, ‘ओलीले राष्ट्रपतिलाई पठाएको चिठी मैले आफैं पढेको छु ।’ प्रचण्डका अनुसार भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री ओलीले राजनीतिक निकासका लागि राष्ट्रपतिलाई कार्कीको नाम सिफारिस गरेका थिए ।

त्यसैका आधारमा कार्की भदौ २७ गते अन्तरिम प्रधानमन्त्री नियुक्त भएकी थिइन् । उनले भने, ‘राष्ट्रपतिले जारी गरेको विज्ञप्तिमै प्रधानमन्त्रीको सिफारिस र सम्मतिको आधारमा नियुक्त गरिएको छ । त्यसैले यो कुरा अब विवादको होइन, दस्तावेजको विषय हो ।’

उनले आफ्नो भाषण जेनजी आन्दोलन र नयाँ पुस्ताको भूमिकातर्फ मोडे । उनले भने, ‘जेनजीका युवाहरू हाम्रो उत्तराधिकारी हुन्, आजका क्रान्तिकारी हुन् । हिजो हामीलाई आतंककारी भनिन्थ्यो, आज उनीहरूलाई त्यही भनिन्छ । यो समयको दोहोरिने कथा हो ।’ उनले युवाहरूलाई ‘मित्र र दुश्मन छुट्याउन सक्ने चेतनायुक्त पुस्ता’ हुन आग्रह गर्दै आन्दोलनका मागहरूलाई जायज भने ।

प्रचण्डले एमाले अध्यक्ष ओलीमाथि व्यंग्य गर्दै भने, ‘जसले संसद् विघटन गरेको थियो, आज त्यही समूह संसद् पुनःस्थापनाको कुरा गर्छ । योभन्दा ठूलो विडम्बना के होला ?’ उनका अनुसार माओवादी, कांग्रेस, रास्वपा र राप्रपा सबै चुनावमा जाने पक्षमा छन् । तर, एमालेले चुनाव असम्भव भन्दै देशलाई फेरि अनिश्चिततामा धकेल्ने प्रयास गरिरहेको आरोप उनको छ ।

प्रचण्डले पार्टी नेतृत्वका बारेमा पनि बोलेका छन् । ‘कतिपयले भन्छन्, प्रचण्डले अध्यक्ष छाड्नुपर्छ, तर मलाई अध्यक्ष रहन कुनै मोह छैन,’ उनले भने, ‘महाधिवेशनमा आवश्यक परे म जस्तोसुकै त्याग गर्न तयार छु ।’ समाजवादी मोर्चामा आबद्ध दलहरूबीच एकताको तयारी भइसकेको बताउँदै उनले देशलाई निकास दिन सबै क्रान्तिकारी शक्ति एकजुट हुनुपर्नेमा जोड दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.