
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य ‘किरण’ले पदबाट स्वैच्छिक राजीनामा दिएका छन् । ८० वर्षीय वैद्यले आफ्नो स्वास्थ्यलगायतका कारण देखाउँदै महासचिवको पद छोड्ने निर्णय गरेका हुन् ।
पार्टीले वैद्यको स्थानमा वरिष्ठ नेता सीपी गजुरेललाई नयाँ महासचिव बनाउने निर्णय गरेको छ ।
नयाँ महासचिव गजुरेलले भने, ‘किरणजी लामो समयदेखि महासचिव हुनुहुन्थ्यो, उहाँको स्वास्थ्यले साथ नदिएपछि केन्द्रीय समितिले महासचिवको जिम्मेवारी मलाई दिएको छ । उहाँ (वैद्य) भने अब सल्लाहकार र विशेष कमिटीमा रहनुहुनेछ।’
मोहन वैद्य ‘किरण’ ले पुष्पकमल दाहाल नेतृत्वको माओवादीबाट विद्रोह गरी २०६९ सालमा ‘नेकपा-माओवादी’ नामक नयाँ पार्टीको नेतृत्व गरेका थिए । उनी २०८१ मंसिरमा एकता महाधिवेशनबाट बनेको क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिव बनेका थिए ।
























