
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरसहित पूर्वका अधिकांश स्थान सोमबार राति पटकाको आवाजले कोलाहलपूर्ण बन्यो । जताततै पटका पड्किएको ठुल्ठूला आवाज सुन्न सकिन्थ्यो ।
विशेष गरेर खुला सीमाको फाइदा उठाउँदै भारतबाट अवैध रूपमा भित्राएर तिहार र छठलगायतका पर्वमा पटका पड्काउने गरिन्छ । तर, यो भित्राउनु र पड्काउनु गैरकानुनी हो । तिहारको उत्सवले माहोललाई रंगिन बनाइरहँदा पटका र आतसबाजीले वातावरण खलबलाएको पनि छ ।
पूर्वी नेपालका धेरै स्थानमा रातभरि तीव्ररूपमा पड्किएका पटाकाले उत्सवको चरमोत्कर्ष सृजना गरेको थिएन । ध्वनि र वायुप्रदूषण, सार्वजनिक सुरक्षा र स्वास्थ्यका समस्या पनि तेज बनाइरहेको थियो ।
विराटनगर, इटहरी, धरान, दमक, बिर्तामोड, भद्रपुरलगायत विभिन्न स्थानमा बारम्बार ठूलो आवाजमा पटाका पड्किँदा सर्वसाधारणले असहज महसुस गरेका थिए । विराटनगरका बालकृष्ण दाहाल विगतजस्तो पटका नपड्किए पनि त्यसले निरन्तरता भने पाएको बताउँछन् ।
‘विगतमा दसैं सकिएको केही समयदेखि नै पटका पड्काउने गरिएको थियो । यसवर्ष विगतजस्तो भारी मात्रामा पड्किएको सुनिएन । तर, रोकिएन पनि । अझ लक्ष्मी पूजा (सोमबार)को राति अलि धेरै पड्कियो । रातभरजसो पटका पड्काउने क्रम चलिरहयो,’ उनले भने । यद्यपि, विगतजस्तो दसैं सकिए लगत्तैदखि भने पटका नपड्किएको दाहाल बताउँछन् ।
केही दिन अघिदेखि फाट्टफुट्ट रूपमा पड्काउन थालिएको पटका लक्ष्मी पूजाको राति भने धेरै पड्किएको दाहालले सुनाए । विशेष गरेर नेपाल र सशस्त्र प्रहरीसमेतका निकायले पटका भित्राउन नदिन नेपाल–भारत सीमा क्षेत्रमा चेकजाँच तीव्र पारेर कडाइ गरेका थिए । झापा, मोरङ र सुनसरीका केही स्थानबाट सामान्य परिमाणमा पटका बरामद पनि भयो ।
कोशी प्रदेशका विभिन्न स्थानबाट मंगलबार दिउँसोसम्ममा १८ लाख ३५ हजार बराबरको पटका बरामद भएको प्रदेश प्रहरी कार्यालय विराटगनरले जनाएको छ । विगत वर्षहरुमा करोडभन्दा बढीका पटका प्रहरीले बरामद गर्ने गरेको थियो ।
सुरक्षा कडाइ गरे पनि विगतजस्तो ठूलो परिमाणमा पटका बरामद हुन सकेन । सुरक्षा अधिकारीहरु भारतबाट दसैंअघि नै पटका भित्राइएको हुनसक्ने बताउँछन् । जेनजी आन्दोलनका कारण केही समय सुरक्षा निकायको सक्रियता कमजोर भएको मौका छोपेर पटका भित्राइएको उनीहरुको आशंका छ ।
‘जेनजी आन्दोलनपछि केही समय सुरक्षा सक्रियता कमजोर बन्यो । सुरक्षाकर्मीको उपस्थिति प्रभावकारी नभएको मौकामा भारतबाट सीमा क्षेत्र हुँदै व्यापक मात्रामा पटका भित्राइएछ । अहिले जताततै पड्किएको पटका त्यतिबेलै भित्राइएको हो,’ १ सुरक्षा अधिकारीले भने । जेनजी आन्दोलनपछि पटकालगायत तस्करीका सामान ओसारपसार गर्ने गिरोह सक्रिय रहेको सूचना सुरक्षा निकायले पाएको थियो ।
तर, आन्दोलनको रापले आफैं पिल्सिएको सुरक्षा निकाय त्यसलाई रोक्न सक्ने अवस्थामा थिएन । स्रोतका अनुसार सुरक्षा सक्रियता बढाउन नसकेको फाइदा उठाउँदै भित्रिएका पटका अहिले सबैतिर पड्किरहेका छन् । ‘आन्दोलनको असरले सीमा क्षेत्रमा सुरक्षा उपस्थित कमजोर बन्यो । त्यतिबेला तस्करीका मार्ग खुला भए । अनि सहजै पटका भित्रिए,’ स्रोतले भन्यो ।
विराटनगरका १ जना व्यापारीले दसैंअघि नै पटका भित्रिएको बताए । ‘जनेजनी आन्दोलनपछि सीमा क्षेत्र सुनसानजस्तै थियो । सुरक्षाकर्मी देखिँदैन थिए । त्यो मौकामा पटका भित्राउने काम भयो । अहिले बजारमा त्यही पड्किरहेको छ,’ उनले भने ।
पटाकाले ध्वनि र वायुप्रदूषण त बढाएकै छ । त्यसले मानव स्वास्थ्य र वातावरणमा दीर्घकालीन नोक्सान पुर्याउने विज्ञहरु बताउँछन् । वातावरणविद् रामचन्द्र अधिकारी पटकाले ध्वनीप्रदूषण र स्वास्थ्यमा सबैभन्दा ठूलो समस्या पार्ने बताउँछन् ।
‘पटकाले वरपरकै वातावरण आतंकित बनाएको छ । यसले बालबालिकाको मनोविज्ञानमा असर गर्छ । मानसिक स्वास्थ्यको समस्या पनि देखा पर्छ । प्रदूषणले मानिसलाई मात्रै नभएर अन्य जीवजन्तुलाई पनि असर पुर्याउँछ,’ अधिकारी भन्छन् । एलुमिनियम नाइट्रेट, सुल्फर डाइअक्साइड, नाइट्रस अक्साइड, लिड र बारुदजस्ता पटाकामा प्रयोग हुने धातु र रसायन वायुमण्डलमा मिसिएपछि औद्योगिकभन्दा पनि बढी प्रदूषण गराउने उनको भनाइ छ ।
अधिकारी भन्छन्, ‘पटाका पड्काउँदा निस्कने धुवाँमा मिसिएका धातु र रासायनिक अंश सासमार्फत शरीरमा प्रवेश गर्छन् । यसले दम, एलर्जी, श्वासप्रश्वास सम्बन्धी समस्या बढाउँछ । लामो समयसम्म बस्दा क्यान्सरसमेत निम्त्याउने जोखिम रहन्छ । पटकाले वायुमण्डलका साथै मानवस्वास्थ्यमा गम्भीर असर पु¥याउँछ ।’ चिकित्सकहरुका अनुसार पटका विशेष गरेर बालबालिका र गर्भवती महिलाका लागि अति नै जोखिमपूर्ण हुन्छ ।
लिड (सिसा)जस्ता भारी धातुहरू शरीरमा प्रवेश गरेमा केन्द्रीय स्नायु प्रणालीमा असर पुर्याउने, मासु र रगतमा समस्या ल्याउने र गर्भवती महिलामा गर्भपतनको सम्भावना समेत बढाउने कोशी अस्पतालका फिजिसियन डा. रोशन खड्काले बताए । उनका अनुसार पटाका खेल्ने क्रममा त्यसको विषाक्त रसायन बालबालिकाको शरीरमा सजिलै प्रवेश पाउँछ ।
‘पटका पड्काउनसाथ बालबालिकाले हातमुख धुँदैनन् । सरसफाइमा ध्यान दिँदैनन् । अनि रसायन सजिलै शरीरमा प्रवेश गर्छ,’ डा. खड्काले भने । पटकाका अवशेष सजिलै पानीमा पुग्छ । उक्त पानी प्रयोग गर्दा मानिसको स्वास्थ्यमा गम्भीर असर पुग्ने चिकित्सक बताउँछन् ।
अधिक मात्रामा रसायन मिसाएर बनाइएको पटका विस्फोटका बेला नजिक रहेका मानिसलाई असर गर्ने उनीहरुको भनाइ छ । पटका पड्काउने क्रममा मानिस घाइते तथा अंगभंगसमेत हुने उनीहरु बताउँछन् ।
‘प्रत्यक्ष चोट लागेर घाइते हुने समस्या त छँदैछ । यसको धुवाँका कारण भित्रिएका हानिकारक रसायनहरूले दीर्घकालीन रोगको जोखिम बढाउँछन् । तत्काल देखिने चोट बाहेक श्वासप्रश्वास र हृदयसम्बन्धी समस्याहरू क्रमिक रूपमा देखिन सक्छन्, ’ डा. खड्काले भने । सुरक्षाकर्मीलाई छलेर भित्राइएका पटका पड्काउन बालबालिका, महिला, युवाहरु बढी सक्रिय हुन्छन् ।
प्रहरीका अनुसार पटका भित्राउँदा नेपाली रूपैयाँ भारत पुगेको छ । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी ईश्वर कार्की पटका पड्काउन हुँदैन भनेर नागरिक तहबाट पनि क्रियाशीलता आवश्यक देखिएको बताउँछन् । ‘पटकाले धेरै समस्या निम्त्याउँछ । अर्कोतर्फ नेपाली मुद्रा विदेश पलायन हुन्छ,’ उनले भने ।
पटका प्रतिबन्धित भए पनि सुरक्षाकर्मीलाई छलेर भित्राउने गरिएका कारण यसलाई नियन्त्रण गर्न दीर्घकालीन योजना आवश्यक देखिएको कार्कीले बताए । पर्वको आनन्द र संस्कार जोगाउँदै सार्वजनिक सुरक्षा, वातावरण र मानव स्वास्थ्यलाई ख्याल गर्नुपर्ने सुझाव उनको छ ।
‘पटका नियन्त्रण गर्न सचेत भएर प्रहरीले भूमिका खेल्छ । तर, यसकै लागि ‘स्पेशल’ टोली खटिएको छैन । त्यही पनि तस्करी नियन्त्रणका क्रममा पटका केन्द्रित भएर प्रहरीले काम गर्छ । त्यस क्रममा केही परिमाणमा बरामद पनि भएका छन् । तर, विगतजस्तो ठूलो परिमाणमा बरामद हुन सकेन,’ उनले भने । चेकजाँचका क्रममा बरामद हुने पटका प्रहरीले नष्ट गर्छ ।
‘सुरक्षा सक्रियता व्यापक बनाइएकै कारण विगतभन्दा तुलनात्मक रूपमा पटका कम पड्किएको छ । एकपटक पड्काउँदा सकिन्छ, प्रतिफल प्राप्त हुँदैन । पैसा भने भारततिर जान्छ । यता मानव स्वास्थ्यदेखि वायुमण्डलसम्ममा असर गर्छ । त्यही भएकाले पटकाका भित्राउने र पड्काउने काम नै घातक हो,’ डीआईजी कार्की भन्छन् । उनले पटकाको प्रयोग रोक्न र भारतबाट भित्राउन नदिन समुदायसमेत सचेत हुनुपर्ने बताए ।

























