
काठमाडौं । जेनजी आन्दोलनका क्रममा बालकोटस्थित निवासमा आगजनी भएपछि पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अब बालकोट नफर्किने भएका छन् ।
आगलागीले खरानी बनेको बालकोटको घर मर्मत नहुने संकेत गर्दै ओली अब भक्तपुरको गुण्डुमा बस्ने भएका हुन् । गुण्डुमा ‘ओलीकुटी’ निर्माण हुने भएको छ । पार्टीका पोलिटब्युरो सदस्य महेश बस्नेतले भक्तपुरकै स्थानीयको पहलमा अध्यक्ष ओलीका लागि नयाँ घर निर्माणको योजना अघि बढेको जानकारी दिएका छन् ।
उनले भने, ‘भक्तपुरका जनताले नै आफ्नै इच्छा र सहयोगमा ओलीकुटी बनाउने संकल्प गरेका छन् । म यस परियोजनाको संयोजकको भूमिकामा रहनेछु ।’ बस्नेतका अनुसार ‘ओलीकुटी’ कस्तो रूपमा बन्छ भन्नेबारे देशभरबाट डिजाइन र सुझाव संकलन सुरु भइसकेको छ । समर्थकहरू यसलाई प्रतीकात्मक राष्ट्रिय स्मारकको रूपमा पनि हेर्न थालेका छन् ।
संविधान दिवसको दिनदेखि नै ओली भक्तपुरको गुण्डुस्थित भाडाको घरमा बसाइँ सरेका छन् । त्यसपछि पहिलोपटक बुधबार उनी बालकोट पुगेका थिए । त्यहाँ उनले जलेको घर अवलोकन गर्दै त्यसको पुनर्निर्माण नगर्ने निर्णय सार्वजनिक गरे । ‘बालकोट निवास मर्मत हुँदैन, यो त अब इतिहास बनिसक्यो,’ ओलीले भनेका थिए । उनका अनुसार उक्त घर उनी र श्रीमती राधिका शाक्यको नामबाट राज्यलाई हस्तान्तरण गर्ने निर्णय पहिले नै भइसकेको थियो ।
‘हामीले बालकोटका दुवै घर आफ्नो नामबाट राजीनामा पास गरिदिएका थियौं । ती हाम्रो निजी सम्पत्ति थिएनन्,’ उनले स्मरण गरे, ‘हामी बाँचुञ्जेलसम्म त्यहाँ बस्न पाउँछौं । तर, मृत्यु पश्चात् यो सम्पत्ति संग्रहालयका रूपमा राज्यलाई जानेछ ।’ श्रीमती राधिका शाक्यले ३३ वर्षसम्म राष्ट्र बैंकमा काम गरेर घर निर्माण गरेकी थिइन् । तर, आन्दोलनका नाममा अराजक समूहले आगजनी गर्दा ओली निवास खरानीमा परिणत भइसकेको छ ।
ओलीकी पत्नी राधिका शाक्य पनि आगलागीपछि बालकोट पुगेकी थिइन् । उनले भनिन्, ‘यो घरलाई हामीले नयाँ पुस्ताका लागि संग्रहालयको रूपमा छोड्ने सपना देखेका थियौं । तर, त्यो सपना अब खरानीमा परिणत भयो ।’
अध्यक्ष ओलीले घटनालाई आन्दोलनको उफ्राइ नभएर नियोजित षड्यन्त्रको रूपमा व्याख्या गरे । उनले गृहमन्त्री ओमप्रकाश अर्यालले व्यक्तिगत द्वेषका आधारमा आफ्नो विरुद्ध योजनाबद्ध कारबाही गरिरहेको आरोप लगाए । ओलीका शब्दमा, ‘जेनजी आन्दोलनको नाममा गलत तत्त्वहरूले देशविरुद्ध खतरनाक षड्यन्त्र रचेका छन् । सरकारी, सार्वजनिक र निजी घरमा आगजनी गर्नेहरू साधारण आन्दोलनकारी होइनन्, आपराधिक समूह हुन् । तर, सरकारले तिनीहरूलाई कारबाही गर्ने आँट देखाएको छैन ।’
भक्तपुरका केही स्थानीयहरूले पनि यस योजनालाई समर्थन जनाउँदै सामाजिक सञ्जालमा ‘ओलीकुटी’का सम्भावित डिजाइनहरू साझा गर्न थालेका छन् । कतिपयले यसलाई ‘सादगी र आत्मनिर्भरता’को प्रतीक बनाउन सुझाव दिएका छन् भने अरूले ‘जनताको पसिना र माटो मिसिएको घर’का रूपमा कल्पना गरेका छन् ।
जलेको बालकोटको घर अहिले प्रहरीको नियन्त्रणमा छ । आगलागीको अनुसन्धान भइरहे पनि दोषी पत्ता लगाउने काम भएको छैन । एमालेका निकटस्थ कार्यकर्ताहरूले गुण्डुमा ‘ओलीकुटी’ निर्माणलाई ‘राजनीतिक पुनर्जन्म’को रूपमा चित्रण गर्न थालेका छन् ।
























