अब अन्तरिम मन्त्रिपरिषद् १२ सदस्यीय

Share this
677shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ९, आइतबार १३:०५

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ पछि प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आइतबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन् । भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी कार्कीले यसअघि भदौ ३० गते र असोज ६ गते मन्त्रिपरिषद् विस्तार गरेकी थिइन् ।

तेस्रो विस्तारमा प्रधानमन्त्री कार्कीले गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता, खगेन्द्र सुनार र डा. सुधा शर्मा गौतमलाई मन्त्री नियुक्त गरेकी छन् । नयाँ मन्त्रीहरूमध्ये गुप्तालाई युवा तथा खेलकुद, सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, डा. शर्मा गौतमलाई स्वास्थ्य तथा जनसङ्ख्या र श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री कार्कीले गणपतिलाल श्रेष्ठलाई अनिलकुमार सिन्हाले सम्हाल्दै आएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सुम्पेकी छन् । यसअघि दोस्रो विस्तारमा सिन्हालाई कानुन, न्याय तथा संसदीय मामिला सहित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको थियो । अब उनीसँग कानुन, न्याय तथा संसदीय मामिला र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी मात्र बाँकी छ ।

पहिलो विस्तारमा ओमप्रकाश अर्याललाई दिइएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय दोस्रो विस्तारमा उनीबाट खोसिएको थियो । उनीसँग हाल गृह मन्त्रालयको जिम्मेवारी छ । कुलमान घिसिङले पहिलाकै तीन मन्त्रालय- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी निरन्तरता पाएका छन् ।

मन्त्रिपरिषद्मा रहेका अन्य मन्त्रीहरू रामेश्वर खनाल (अर्थ), महावीर पुन (शिक्षा, विज्ञान तथा प्रविधि), मदनप्रसाद परियार (कृषि तथा पशुपक्षी विकास) र जगदीश खरेल (सञ्चार तथा सूचना प्रविधि) को जिम्मेवारी यथावत् छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.