मन्त्रिपरिषद् पुनर्गठन, बन्यो १० सदस्यीय

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ९, आइतबार १६:०२

काठमाडौँ । ‘जेनजी आन्दोलन’ को करिब डेढ महिनापछि प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा रहेको सरकार आइतबार तेस्रोपटक पुनर्गठन भएको छ । प्रधानमन्त्री कार्कीसहित मन्त्रिपरिषद् अब १० सदस्यीय बनेको छ ।

प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार डा. सुधा शर्मालाई स्वास्थ्य तथा जनसङ्ख्या र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रीको शपथ गराए ।

प्रधानमन्त्री कार्कीले सुरुमा आइतबार ४ जनाको नाम सिफारिस गरे पनि विवादका कारण खगेन्द्र सुनारको नाम काटिएको थियो भने गणपतिलाल श्रेष्ठको पनि शपथ भएन ।

मन्त्रिपरिषद्‌मा अधिकांश व्यक्तिहरू पूर्वप्रशासनिक र विभिन्न क्षेत्रका विशेषज्ञ पृष्ठभूमिका छन् ।

अर्थमन्त्री रामेश्वर खनाल अर्थ मन्त्रालयबाटै अवकाश पाएका सचिव हुन् । कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन् ।

अनिलकुमार सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन् भने नवनियुक्त स्वास्थ्यमन्त्री डा. सुधा शर्मा स्वास्थ्य मन्त्रालयबाट १४ वर्षअघि अवकाश पाएकी सचिव हुन् ।

यस्तै, गृहमन्त्री ओमप्रकाश अर्याल पेशाले अधिवक्ता हुन् भने सञ्चारमन्त्री जगदीश खरेल पत्रकार हुन् । महावीर पुन राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरी प्रविधि र सामाजिक सेवामा जोड दिने चर्चित व्यक्तित्व हुन् ।

मन्त्रिपरिषद्मा महिला, आदिवासी, दलित एवं मधेशी समुदायको प्रतिनिधित्व भएको देखिन्छ । नयाँ मन्त्री बब्लु गुप्ता सामाजिक काममा सक्रिय व्यक्ति हुन्। उनले कोरोना महामारीका बेला निःशुल्क खाना वितरण र कपडा बैंक अभियान चलाएका थिए ।

उनलाई मन्त्री बनाएसँगै सरकारमा जेनजी आन्दोलनकर्मी र मधेशी समुदायको प्रतिनिधित्व भएको मानिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.