
विराटनगर । पूर्वी मोरङका विभिन्न नाका हुँदै भारततिर व्यापक मात्रामा गाई गोरुको तस्करी भइरहेको रहस्य बाहिरिएको छ ।
पूर्वी र पश्चिम नेपालका विभिन्न स्थानबाट गाई गोरु ल्याएर सवारीसाधनको प्रयोग गरी भारत तस्करी भइरहे पनि नियन्त्रणका लागि सम्बन्धित निकायले चासो नदिएको गुनासो स्थानीयको छ । स्थानीयका अनुसार पूर्वी मोरङसहित झापाका केही नाकाबाट समेत गाई गोरु भारत पुर्याइन्छ ।
‘गाई गोरु तस्करीमा ठूलै गिरोह सक्रिय छ । नेपाल र सशस्त्र प्रहरीले नियन्त्रणमा लागि कुनै चासो दिँदैनन्,’ एक स्थानीयले भने । उनका अनुसार विशेष गरेर पशु चौपायाको तस्करीमा पछिल्लो समय उर्लाबारी–बरडंगा र उर्लाबारी–सिजुवा सडक खण्डको प्रयोग धेरै हुने गरेको छ । तस्करीमा संलग्नले गाई गोरु कटाउनलाई अन्य विभिन्न सहायक मार्गहरु पनि प्रयोग गर्छन् ।
गाई गोरु लोड गरिएको पिकअपले उर्लाबारी–आमबारी सडक खण्डमा शनिबार दिउँसो दुर्घटना गराएपछि तस्करीको रहस्य बाहिर आएको हो । उर्लाबारीबाट तीव्र गतिमा सिजुवातर्फ जाँदै गरेको को २ च ८७५ नम्बरको पिकअपले रतुवामाई नगरपालिका–८ दाम्राभिट्टा बजारमा बाटो क्रस गर्दै गरेको प्र १–०१–००२ ह १९२६ नम्बरको सीटी सफारीलाई दिउँसो २ः३० बजेतिर ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका सफारी चालक रतुवामाई–५ का ४४ वर्षीय कान्छा मियाँलाई उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल लगियो ।
मध्यम अवस्थाका उनले पूर्ण उपचारसमेत पाउन सकेनन् । सामान्य उपचारपछि गाई गोरु तस्करीमा संलग्नको दबाबमा डिस्चार्ज गरिएको प्रहरी स्रोतले बतायो । स्रोतले भन्यो, ‘सामान्य उपचारपछि मिलापत्र गर्नुपर्छ भनेर डिस्चार्ज गरिएको पाइयो । घाइतेलाई खाजा खर्च भनेर केही रकमसमेत दिएछन् ।’
घाइते अवस्थाका मियाँले भने स्वास्थ्यमा समस्या हुँदा पनि आफूले पूर्ण उपचार पाउन नसकेको गुनासो गरेका छन् । प्रहरीकै मिलेमतोमा सामसुम पार्न खोजिएको यो घटना स्थानीयले बाहिर ल्याएका हुन् । दुर्घटनालगत्तै पिकअप चालक फरार भएका थिए । उक्त पिकअपभित्र कोचाकोच गरेर राखिएको अवस्थामा ६ वटा गाई गोरु फेला परेको स्थानीयले बताए ।
स्थानीयले खिचेको भिडियो र फोटोमा पनि गाई गोरु कोचाकोच गरेर राखिएको दृश्य देख्न सकिन्छ । घटनापछि आक्रोशित बनेका स्थानीयले दाम्राभिट्टामा अन्य पिकअप गाडीहरु रोकेका थिए । त्यस क्रममा गाई गोरु लोड गरिएका अन्य २ वटा पिकअपलाई स्थानीयले नियन्त्रणमा लिए ।
स्थानीयले प्र १–०१–००१ च ८७२४ र प्र १–०१–००१ च ८५६२ नम्बरको र दुर्घटना गराउनेसहित ३ वटा पिकअपलाई नियन्त्रणमा लिएर लोड गरिएका १८ गाई गोरुसहित प्रहरीको जिम्मा लगाए । एउटा गाई पिकअपभित्रै किचिएर मर्न लागेको अवस्थामा देखेपछि स्थानीयले डोरी काटिदिएका थिए । ‘पिकअपभित्र कोचाकोच गरी निर्ममतापूर्वक यातना दिएर गाई गोरु ल्याइएको रहेछ,’ दाम्राभिट्टाका व्यवसायी नवीन अर्यालले भने, ‘स्थानीयले नियन्त्रणमा लिएर गाई गोरुसहित प्रहरीको जिम्मा लगाएका हुन् ।’

उनका अनुसार दाम्राभिट्टाको बाटो हुँदै दिनमा सयौं गाई गोरु लैजाने गरिएको छ । ‘एउटा पिकअपमा ७ वटासम्म गाई गोरु लोड गरिएको हुन्छ । कोचाकोच र निर्ममतापूर्वक यातना दिएर पशु चौपायालाई राखिएको दृश्य एकदमै दर्दनाक देखिन्छ । त्यस्ता पिकअप दिनमा ५०–६० वटाभन्दा बढी चल्छन्,’ अर्यालले भने ।
उनका अनुसार दुर्घटनापछि आक्रोशित स्थानीयले पिकअपमा आगजनी र तोडफोड गर्न खोजेका थिए । ‘दुर्घटना भएपछि अवस्था तनावपूर्ण हुने देखेर हामीले प्रहरीलाई खबर गरेका थियौं । वास्तै गरिएन । त्यतै मिलाउनु होला भन्ने जवाफ आयो । इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर वा अनुसन्धान अधिकारीलाई बोलाइयो । तर, कोही पनि आएनन् । त्यसपछि अस्थायी प्रहरी चौकी दाम्राभिट्टाबाट हवल्दारको टोलीलाई गाई गोरुसहित ३ वटै पिकअप जिम्मा लगाइयो,’ उनले भने ।
अर्यालका अनुसार स्थानीयले घटनाको भिडियो र फोटो खिचेका छन् । गाई गोरु तस्करी नियन्त्रणका लागि स्थानीयले लामो समयदेखि आवाज उठाइरहे पनि सुनुवाइ नभइरहेको उनी बताउँछन् । ‘गाई गोरुको अत्यधिक मात्रामा भइरहेको तस्करी रोक्न चासो नदिनुले सुरक्षाकर्मीको भूमिका शंकास्पद देखिन्छ । उल्टै पैसा लिएर भारत कटाउन सहजीकरण गरिदिने गरेको कुरा आउँछ । गाई गोरु लोड गरिएको गाडीले दुर्घटना गराउँदासमेत प्रहरीले वास्तै नगर्नुका पछाडि धेरै रहस्य लुकेका छन्,’ व्यवसायी अर्याल भन्छन्, ‘स्थानीयले १० मिनेटको अवधिमा नै गाई गोरु लोड गरिएका ३ वटा पिकअप रोकेका थिए । यो बाटो हुँदै यस्ता गाडी दिनमा धेरै कुद्छन् । दैनिक ठूलो संख्यामा भारततिर गाई गोरु निकासी हुन्छ ।’

चालकले गाई गोरु ओसारपसारको अनुमति एवं स्वीकृतिसँग सम्बन्धित कागजात देखाउन सकेनन् । तर, स्थानीयले नियन्त्रणमा लिएर बुझाएका पिकअप र गाई गोरुलाई भने प्रहरीले बिना कारबाही छाडिदिएको पाइएको छ । यसले गाई गोरु तस्करी नियन्त्रणमा प्रहरीको भूमिका शंकास्पद देखिएको छ । स्थानीय र जनप्रतिनिधिहरु नेपाल एवं सशस्त्र प्रहरीले पैसा लिएर गाई गोरु तस्करीलाई खुलेआम सहजीकरण गरिरहेको आरोप लगाउँछन् । सुरक्षा निकायको भूमिका र कामकारबाहीले पनि उक्त आरोपलाई पुष्टि गर्छ ।
इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर कैलाश लिम्बूले दुर्घटना गराउने गाडीलाई नियन्त्रणमा राखिएको र जरिबानासमेत गरिएको बताए । ‘स्वास्थ्य अवस्थामा सुधार भएपछि दुर्घटना घाइतेलाई अस्पतालले डिस्चार्ज गरिसकेको छ । मिलापत्रका लागि दुर्घटना गराउने र घाइते पक्षबीच छलफल गराइयो । अरु २ वटा गाडीलाई नियन्त्रणमा राखिएन । गाई गोरु सम्बन्धित धनीलाई जिम्मा लगाइयो,’ उनी भन्छन् । गाई गोरु कसका हुन् भनेर उनले खुलाएनन् ।
स्थानीयले तीव्र गतिका कारण दुर्घटना भएको गुनासो गरेको र तस्करीको कुरा नगरेका कारण गाई गोरु तथा अरु २ वटा पिकअपलाई नियन्त्रणमा राख्न आवश्यक नठानिएको लिम्बूको जिकिर छ । ‘गाई गोरु तस्करीको कुरा कसैले गरेनन् । राख्ने ठाउँ नभएपछि छाडिएको हो,’ उनी भन्छन् । तर, पिकअपका चालकहरुसँग गाई गोरु ओसारपसारको अनुमति थियो कि थिएन ? भन्ने प्रश्नमा इन्स्पेक्टर लिम्बूले त्यो विषयमा सोधीखोजी नै नगरिएको बताए ।

अर्को कुरा गाई गोरु लोड गरिएको गाडीले दुर्घटना गराउँदासमेत जिल्ला प्रहरी कार्यालय मोरङलाई सामान्य जानकारी मात्रै दिइएको छ । पिकअपको ठक्करबाट सफारी चालक घाइते भएको सामान्य ‘रिपोर्टिङ’ गरिएको भएपनि गाई गोरु लोड गरिएको गाडीले दुर्घटना गराएको विषयलाई लुकाइएको हो ।
स्रोतका अनुसार केही समयअघि मात्रै मोरङ प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका एसपी कवित कटवाल गाई गोरु तस्करीका बारेमा अनभिज्ञ छन् । मोरङको भूगोलका लागि नयाँ रहेका उनलाई यो विषयमा कुनै जानकारी छैन । ‘जिल्लाका प्रहरी प्रमुखलाई नै छलेर गाई गोरु तस्करीको धन्दा चलाइएको छ । स्थानीय प्रहरीको मिलेमतोमा तस्करको समूहले रजगज गरिरहेको छ,’ स्रोतले भन्यो ।
स्थानीयका अनुसार मोरङका पूर्वी नाकाहरु डोरिया, चुनीमारी, सिक्टी, बौकाचोपडा, सोराभाग, नोचा तथा झापाका गौरीगञ्ज र बालुबारी लगायतका दर्जनौं नाकाबाट दैनिक सयौं गाई गोरु तस्करी गरेर भारततिर लगिन्छ । तस्करीमा संलग्नले सुनसरीको चतरा, बांगे बजार, मोरङको बेलबारी, उर्लाबारी, पथरीशनिश्चरे, उदयपुरको बेलटार, रामपुर तथा सिराहाको लहान लगायतका विभिन्न स्थानबाट खरिद गरी संकलन गरेर गाई गोरुको तस्करी गर्छन् । पश्चिम नेपालका विभिन्न स्थानबाट समेत गाई गोरु ल्याउने गरिएको छ ।
राष्ट्रिय जनावर गाई कानुनतः व्यावसायिक प्रयोजनको निम्ति विदेश निर्यात गर्न पाइँदैन । गोरु निकासीमा पनि आवश्यक कागजात नै जुटाउन कठिन हुने बताइन्छ । मोरङका पर्वत साह, नाजिर मियाँ लगायतका व्यक्तिहरु गाई गोरु तस्करीमा सक्रिय रहेको स्रोतले बतायो । ‘सुरक्षा अधिकारीदेखि सबै पक्षलाई मिलाएर तस्करी गरिन्छ । यसमा माथिदेखिकै ‘सेटिङ’ हुन्छ । त्यही भएर पशु चौपायाको तस्करी खुलेआम रूपमा भइरहँदा पनि नियन्त्रणका लागि कसैले चासो दिँदैनन्,’ सुरक्षा स्रोतले भन्यो ।

स्रोतका अनुसार अनुसार सशस्त्र र नेपाल प्रहरीले गाई गोरु तस्करीमा ठूलो सहयोग गरिरहेका छन् । ‘नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्रका बीओपी र प्रस्तावित गुल्म ५ देखि ७ किलोमिटरको दुरीमा छन् । सशस्त्रले चाहने हो भने तस्करीको सम्भावना नै हुँदैन । तर, नियन्त्रणमा चासै दिँदैन । नेपाल प्रहरी पनि तस्करकै सहयोगी बनेको छ,’ स्रोतले भन्यो ।
वडा र पालिकाको सिफारिसदेखि स्वास्थ्य प्रमाणपत्र लगायतका कागजातका आधारमा गाई गोरु एउटा जिल्लाबाट अर्को जिल्ला लैजान पाइन्छ । विदेश लैजान भने पाइँदैन । त्यो कुनै पनि प्रक्रिया पूरा नगरिकन एक जिल्लाबाट अर्को जिल्ला पुर्याउँदै खुला सीमाको फाइदा उठाएर गाई गोरु भारततिर निकासी गर्ने गरिएको छ । नियमनकारी निकायले आँखै अगाडिको दृश्यलाई समेत अनदेखा गर्छन् ।
‘ओसारपसार गर्नेसँग कुनै आधिकारिक कागजात हुँदैन । मोरङ र झापामा मात्रै यत्रो संख्यामा गाई गोरु छैनन् । विभिन्न ठाउँबाट खरिद गरेर ल्याउँछन् । तर, कहाँ लैजान्छन् भन्ने थाहै हुँदैन । यसको अर्थ, भारत नै लैजान्छन् भन्ने हो,’ एक सुरक्षा अधिकारीले भने । उनका अनुसार तस्करीमा संलग्न गिरोहले गाई गोरु भारत कटाउनलाई एउटा जिल्लामा सुरक्षा निकायदेखि विभिन्न पक्षका लागि मासिक १० लाख रूपैयाँभन्दा बढी खर्च गर्छन् ।
‘गाई गोरु तस्करीको अन्तर्राष्ट्रिय सञ्जाल तोड्नेतर्फ राज्यको ध्यान नै छैन । उल्टै राज्यका निकाय सहयोगीका रूपमा प्रस्तुत हुन्छन् । यहाँभन्दा ठूलो विडम्बना अरु हुँदैन । माथिदेखि नै कडाइ नगरे तस्करी रोक्न त्यति सजिलो छैन,’ ती सुरक्षा अधिकारीले भने ।
रतुवामाई–८ का वडाध्यक्ष पुष्पबहादुर कार्कीले पिकअपमा राखेर गाई गोरु अत्यधिक ओसारपसार गर्ने गरिएको बताए । ‘भारत तस्करी गर्न वा कुन प्रयोजनका लागि लगिएको हो भनेर यकिन भएन । तर, दैनिक ५ सय हाराहारीमा गाई गोरु गाडीमा राखेर दक्षिणतर्फ लगिन्छ,’ उनी भन्छन्, ‘यस विषयमा प्रहरी प्रशासनलाई बारम्बार भन्यौं । तर, वास्तै गर्दैनन् ।’

कार्कीका अनुसार गाई गोरु तस्करीका विषयमा नगरपालिकाको कार्यपालिका बैठकमा पनि कुरा उठेको छ । ‘पटक–पटक कुरा उठे पनि यो कार्यपालिकाको क्षेत्राधिकारभित्र पर्ने विषय भएन । सबैले भन्ने त प्रहरी र प्रशासनलाई नै हो । हामीले पनि सुरक्षा निकायलाई नै भन्छौं । नियन्त्रण चैं हुन सकिरहेको छैन । यहाँको बाटो हुँदै दैनिक ४ सयभन्दा बढी पशु चौपाया लगिन्छ । तर, कहाँ लैजान्छन् भन्ने थाहा भएन । भारततिरै लैजान्छन् होला भन्ने हाम्रो अनुमान हो,’ उनले भने ।
‘गाई गोरु लोड गरिएका गाडी रातदिन लाम लागेर कुद्छन् । तर, रोक्न कसैले चासो दिँदैनन्,’ वडाध्यक्ष कार्कीले भने । उनका अनुसार स्थानीयले आफ्नो क्षेत्रको सुरक्षाका लागि रात्रिकालीन गस्तीसमेत गर्ने गरेका छन् । ‘प्रत्येक राति १० बजेपछि गस्ती सुरु हुन्छ । त्यतिबेला पनि गाई गोरु लोड गरिएको गाडी कुदिरहेको देख्न सकिन्छ,’ उनी भन्छन्, ‘तस्करी भन्ने कि के भन्ने ? तर, पशु चौपाया अत्यधिक लगिन्छ ।’
गाई गोरु लोड गरिएको गाडी तीव्र गतिमा हुँइकिने हुँदा दुर्घटनाको जोखिम पनि बढेको कार्कीले बताए । स्थानीयले पछिल्लो समय पूर्वी मोरङ र झापाका केही नाकामा गाई गोरु तस्करको रजगज चलिरहेको बताएका छन् । सुरक्षा निकायदेखि सबै पक्षको ‘सेटिङ’मा तस्करी मौलाउनु दुःखद् भएको उनीहरुको गुनासो छ ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले गाई गोरु तस्करीको विषय कुनै जानकारीमा नरहेको बताइन् । तस्करीमा प्रहरीको मिलेमतो देखिएमा कारबाही हुने उनको भनाइ छ । आवश्यक कागजात बिनाका गाई गोरु र पिकअप छाडिएको विषयमा भने चुँडालले भनिन्, ‘प्रारम्भिक सोधपुछ गर्दा स्थानीय बजारमा बिक्रीका लागि लगिएको भनिएपछि छाडिएको रहेछ । यसबारेमा थप बुझ्ने काम भइरहेको छ ।’
सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजेश घिमिरेले तस्करीमा सशस्त्रको मिलेमतो देखिए कारबाही हुने बताए । ‘सीमा क्षेत्रमा कडाइ गर्न निर्देशन दिइएको छ । हामी आफैं अनुगमनमा पनि पुगिरहेका छौं । कसैले तस्करसँग साँठगाँठ गरेर गाई गोरुलगायत विभिन्न कुराको तस्करीमा सहयोग गरेको पाइएमा तत्काल कारबाही हुन्छ,’ घिमिरेले भने ।


























