
काठमाडौं । जेनजी आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको सर्वोच्च अदालतले आफ्नो वेबसाइट पूर्ण रूपमा सञ्चालनमा ल्याएको छ। सर्वोच्च अदालतको सूचना-प्रविधि महाशाखाले सोमबारदेखि वेबसाइटलाई पूर्ववत् अवस्थामा सञ्चालन गरेको हो।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले भने, ‘भदौ २४ गतेको तोडफोडअघि हाम्रो सूचना प्रणाली र वेबसाइट जस्तो अवस्थामा थियो, अहिले त्यो अवस्थामा आइपुगेको छ। त्यसपछि अहिलेसम्म अदालत कागजी रूपमा मात्रै सञ्चालन भएको थियो। अब त्यसपछिका सूचना र विवरण अपलोड गर्ने तयारी भइरहेको छ।’
डेटा रिकभर गरी सीएमएस सञ्चालनमा
भदौ २४ गते सर्वोच्च अदालतकै भवनको माथिल्लो तलामा रहेको सूचना–प्रविधि कक्षमा क्षति पुगेपछि अदालतको मुद्दा व्यवस्थापन प्रणाली (केस म्यानेजमेन्ट सिस्टम–सीएमएस) अवरुद्ध भएको थियो र वेबसाइट नै बन्द भएको थियो। अदालत खुलेको केही सातापछि वेबसाइट सञ्चालन भए पनि त्यसमा सबै डाटाहरू हटेका थिए। प्रवक्ता कोइरालाका अनुसार, यो एक महिनाको अवधिमा हेटौंडामा रहेको ‘ब्याकअप सेन्टर’ बाट डाटा रिकभर गरेर वेबसाइट सञ्चालनमा ल्याइएको हो।
सर्वोच्च अदालतको सबैजसो कामकारवाही डिजिटलाइज्ड भएकाले वेबसाइट बन्द हुँदा मुद्दाका सरोकारवालाहरू प्रत्यक्ष प्रभावित बनेका थिए। वेबसाइटमा मुद्दाको तारिख, पेशीदेखि अन्य सबै विवरण र फैसला समेत उपलब्ध हुन्छ। प्रवक्ता कोइरालाले तोडफोडअघिसम्मका सबै विवरण रिकभर भइसकेको र त्रुटी भए सुधार गर्ने काम भइरहेको बताएका छन्। अब सर्वोच्च अदालतकै वेबसाइटमा आवद्ध विशेष, उच्च र जिल्ला अदालतका वेबसाइट र सूचना प्रणाली पनि सञ्चालन गर्ने तयारी भइरहेको छ।
यद्यपि, मुद्दाका अरु विवरण र फैसलाको प्रति वेबसाइटमा राखिए पनि अदालतमा भौतिक रूपमा रहेका र डाटा प्रणालीमा नराखिएका मुद्दाका फाइलहरू यसरी रिकभर नहुने भएकाले त्यसका लागि अदालतले कागजात प्राप्त गर्ने छुट्टै कार्यविधि बनाएको छ।

























