कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै: महाधिवेशन कहिले ?

Share this
634shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १४, शुक्रबार ०७:०८

ललितपुर। नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठक आज (शुक्रबार) पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा दिउँसो १ बजेबाट बैठक सुरु हुने जनाइएको छ। गत असोज २८ गतेदेखि सुरु भएको यो बैठकमा मुख्यगरी देशको समसामयिक राजनीतिक परिस्थिति र कांग्रेसको भूमिकाबारे छलफल भइरहेको छ।

बैठकमा भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलन, अन्तरिम सरकारको गठन र प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक अवस्थाका बारेमा केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन्। पार्टीका प्रवक्ता प्रकाशशरण महतका अनुसार जारी केन्द्रीय समितिको बैठकमा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यहरूले मुलुकलाई निर्वाचनतर्फ लैजानु नै अहिलेको मुख्य आवश्यकता भएको र निर्वाचन सम्पन्न भएपछि मात्रै महाधिवेशन गर्नु उपयुक्त हुने धारणा राखेका छन्।

हिजोको बैठकमा केन्द्रीय सदस्यहरू मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुरसिंह तामाङ, रमा कोइराला, टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार केसी, रङ्गमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना, विद्यादेवी तिमिल्सिना, शान्ति परियार विक, लक्ष्मी खतिवडा, आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली, आमन्त्रित प्रदेश सभापति इन्द्रबहादुर बानियाँ (बागमती) र अमरसिंह पुन (लुम्बिनी) लगायतका नेताहरूले आआफ्नो विचार व्यक्त गरेका थिए। आजको बैठकमा पनि बाँकी रहेका केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने कार्यतालिका रहेको बताइएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.