
काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान सञ्चालन गरेको समूहले पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्न आइतबार भेला बोलाएको छ । केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनको कार्यतालिका समेत पेस हुन नसकेको भन्दै उनीहरूले यो कदम चालेका हुन् ।
हस्ताक्षर संकलन अभियानको नेतृत्व गरेका नेता गुरूराज घिमिरेले यो सल्लाह गर्ने बैठक भएको र केन्द्रीय समितिको गतिविधिलाई समेत आफूहरूले नियालिरहेको बताएका छन्।
विशेष महाधिवेशनको माग गर्ने समूहको भेला आइतबारका लागि बोलाइएको छ। भेला नयाँ बानेश्वरस्थित एक बैंक्वेट (आनन्दभूमि) मा मध्यान्ह साढे १२ बजेबाट सुरु हुनेछ। नेता घिमिरेका अनुसार काठमाडौंमा उपलब्ध साथीहरूका बीचमा ‘अब के गर्ने’ भनेर सल्लाह गर्न यो बैठक आयोजना गरिएको हो।
नेता घिमिरेले असोज २९ गते २ हजार ४८८ जना महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका थिए। असोज ३० गतेबाट छलफल सुरु भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा भने विशेष महाधिवेशनको माग एजेन्डाका रूपमा पेस भएको छैन। यही कारण असन्तुष्ट समूहले भेला गरेर थप दबाब दिने तयारी गरेको छ।
























