
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) ले पार्टी एकताबारे निर्णय लिनका लागि आज (शनिबार) महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बोलाएको छ।
दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने यस बैठकले खासगरी नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टी (नेसपा) लगायतका दलहरूसँग हुने एकताका विषयलाई अन्तिम रूप दिनेछ। माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले जानकारी दिएअनुसार, बैठकमा एकताको मोडालिटी, पदीय व्यवस्थापन तथा सैद्धान्तिक तयारी लगायतका महत्त्वपूर्ण विषयमा छलफल हुनेछ।
पार्टी एकता प्रक्रियालाई मूर्तरूप दिनका लागि यो बैठक निर्णायक मानिएको छ। यसअघि गत शुक्रबार मात्रै नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठकले माओवादी केन्द्र र नेसपासँग एकता गर्ने औपचारिक निर्णय गरिसकेको छ। एकीकृत समाजवादीले एकताका बाँकी गृहकार्य र प्राविधिक विषयहरू टुङ्गो लगाउने जिम्मा सचिवालयलाई सुम्पिएको पृष्ठभूमिमा माओवादी केन्द्रको आजको बैठकले पनि सोही दिशामा अगाडि बढ्ने अपेक्षा गरिएको छ।
























