
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश अहिले ‘साम्राज्यवाद र समाजवादी क्रान्ति’ बिचको टक्करको चरण मा रहेको बताएका छन् । उनले राष्ट्र गम्भीर सङ्कटमा परे पनि समाजवादी क्रान्तिको प्रारम्भिक सङ्केतहरू देखिन थालेको दाबी गरेका छन् ।
शनिबार पेरिस डाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले वर्तमान अवस्थालाई लिएर निराश हुनुपर्ने कारण नभएको बताए । प्रचण्डले हालैका घटनाक्रमलाई उल्लेख गर्दै भने, ‘क्रान्ति अब टाढा छैन, बरु नजिक आएको छ।’
उनका अनुसार जनताको असन्तुष्टि र आक्रोशलाई सही ढङ्गले संगठित गर्न सके छोटो समयमै समाजवादी क्रान्ति सम्भव छ । उनले नेपालको वर्तमान परिस्थितिलाई समाजवादी क्रान्तिको प्रारम्भिक सङ्केत का रूपमा व्याख्या गरे।
प्रचण्डले अहिले देश ‘क्रान्ति र प्रतिक्रान्ति आमनेसामने’ भएको ऐतिहासिक मोडमा आइपुगेको बताए । उनले वर्तमान अवस्थालाई ‘राष्ट्रको स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमसत्ता’ माथिको गम्भीर चुनौती को रूपमा चित्रण गरे ।
‘हामी अहिले साम्राज्यवादसँग सीधै आमनेसामने छौँ,’ उनले भने, ‘अब प्रश्न छ, समाजवादी क्रान्तिले साम्राज्यवादलाई रोक्ने हो कि साम्राज्यवादले नै हाम्रो स्वाधीनता निल्ने हो ?’
सहिद प्रतिष्ठान नेपालको साधारणसभामा बोल्दै प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने जिम्मेवारी अधुरो रहेको स्वीकार गरे । परिणाम ढिलो हुँदा शहीद परिवारमा आएको आक्रोशलाई उनले ‘जिम्मेवारीको बोध’ का रूपमा लिएको बताए ।
























