
काठमाडौं । नेकपा माओवादी केन्द्रले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसहित विभिन्न ७ कम्युनिष्ट समूहसँग पार्टी एकता गर्ने निर्णय गरेको छ । आज (आइतबार) बिहान बसेको माओवादी केन्द्रको सचिवालय बैठकले आगामी कात्तिक २० गते काठमाडौंमा वृहत एकता घोषणा कार्यक्रम गर्ने निर्णय गरेको हो।
माओवादी केन्द्रका नेता अग्नि सापकोटाका अनुसार यो एकतामा सहभागी हुने दल तथा समूहहरू नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (माधवकुमार नेपाल नेतृत्वको), नेपाल समाजवादी पार्टी (महिन्द्र राय यादव नेतृत्वको), विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेको चिरन पुन ‘मिलन सी’ समूह, प्रेमबहादुर सिंह समूह, नेकपा समाजवादी (राजु कार्की नेतृत्वको), जनसमाजवादी पार्टी नेपाल (सुभाषराज काफ्ले नेतृत्वको) छन् ।
एकतापछि नयाँ बन्ने पार्टीको नाम ‘नेकपा समाजवादी’ राख्ने सहमति भएको छ । यसैगरी, पार्टीको राजनीतिक सिद्धान्तबाट ‘माओवाद’ लाई हटाएर ‘मार्क्सवाद–लेनिनवाद’ मात्र राखिने निर्णय गरिएको नेता सापकोटाले जानकारी दिए ।
एकता प्रक्रियामा संलग्न यी दलका नेताहरूले कात्तिक २० मा एकता घोषणा गरेर तत्कालै निर्वाचन आयोगमा नयाँ दल दर्ताको निवेदन दिने तयारी गरेका छन् । आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि सहभागी हुन चाहने दलहरूलाई कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्न समयसीमा तोकेको छ ।
























