झाँक्रीले तोडिन् एकीकृत समाजवादीसँगको सम्बन्ध: ‘पार्टी विघटनसँगै यात्रा टुंगियो’

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १९, बुधबार १२:०७

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की संस्थापक नेता तथा पूर्व मन्त्री रामकुमारी झाँक्रीले पार्टीसँगको आफ्नो राजनीतिक यात्रा औपचारिक रूपमा टुङ्गिएको घोषणा गरेकी छन् । उनले एकीकृत समाजवादी विघटनको दिशामा गएको भन्दै पार्टीसँगको सम्बन्ध समाप्त भएको बताएकी हुन् ।

आज (बुधबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै झाँक्रीले माधवकुमार नेपाल नेतृत्वको पार्टीले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्ने निर्णयप्रति आफ्नो विमति रहेको पुनः स्पष्ट पारेकी छन् । उनीसँगै नेता किसान श्रेष्ठ लगायतले पनि पार्टी निर्णयमा असहमति जनाएका थिए ।

झाँक्रीले एकीकृत समाजवादीको गठनको समयको स्मरण गर्दै भनिन्, ‘नेकपा एकीकृत समाजवादी निर्माणका प्रारम्भका दिनहरूमा हामी एउटा भयंकर नै अभियान चल्छ भन्ने विश्वासका साथ लागेका थियौं । त्यो अब समाप्त भएको छ ।’

पार्टी विघटनको चरणमा गएको उल्लेख गर्दै उनले भनिन्, ‘हाम्रो समाजवादी पार्टीसँगको यात्रा, त्यो पार्टी विघटनसँगसँगै टुंगियो ।’ यसैबीच, एकीकृत समाजवादीका अर्का नेता किसान श्रेष्ठले आफूहरू कुनै सर्त नराखी नेकपा (एमाले) मा फर्किन लागेको जानकारी गराइसकेका छन् । झाँक्रीको यो घोषणालाई पनि एमाले फर्कने तयारीको रूपमा अर्थ्याइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.