
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसाल ले नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकतामा सहभागी नहुने स्पष्ट पारेका छन् । उनले पार्टी एकताको सट्टा ‘वाम आन्दोलनको नयाँ पार्टी’ बनाउने घोषणा गरेका छन् ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भूसालले देशभक्ति वामपन्थी मोर्चा बनाएर त्यसलाई समाजवादी बाटोमा अगाडि बढाउने बताएका छन् । ‘यो पार्टी नेकपा एकीकृत समाजवादीमा रहेका नेताहरूको मात्र होइन सम्पूर्ण वामपन्थीहरूको पार्टी हुनेछ,’ भूसालले पत्रकार सम्मेलनमा भने ।
भूसालको यो घोषणा आजै काठमाडौंको भृकुटीमण्डपमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत साना आठ दलहरूले एकता घोषणा कार्यक्रम गर्न लागेको समयमा आएको हो । यी दलहरूले पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी र चुनाव चिह्न तारा राख्ने सहमति गरेका छन् ।
नयाँ बन्ने पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजकमा माधवकुमार नेपाल रहने तय भएको छ । माधवकुमार नेपाल सह-संयोजक रहने गरी हुन लागेको यो एकता प्रक्रियामा नेकपा एसभित्र झलनाथ खनाल र महासचिव भूसाल लगायतका नेताहरूको असहमति देखिएको छ ।
























