
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधि सभा तत्काल पुनःस्थापना गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन् ।
उनले प्रतिनिधि सभा असंवैधानिक ढङ्गले विघटन भएकाले त्यसको पुनःस्थापना गर्ने जिम्मा कि त अदालतको, होइन भने विघटन गर्ने राष्ट्रपति स्वयंको हुने जिकिर गरेका छन् ।
शुक्रबार काठमाडौँमा बुद्धिजीवीहरूसँगको भेलामा बोल्दै अध्यक्ष ओलीले भने, ‘हामी विघटित प्रतिनिधि सभाको तत्काल पुनःस्थापनाको माग लिएर हरेक नेपाली जनता आन्दोलित हुनुपर्दछ। जसले विघटन गर्छ, त्यसले पुनःस्थापना गर्छ। कि त अदालतले गर्छ। होइन भने विघटन गर्ने राष्ट्रपतिले नै गर्नु पर्छ ।’
ओलीले राष्ट्रपति पौडेलले प्रतिनिधि सभा विघटन गर्न सक्ने तर पुनःस्थापना गर्न नसक्ने भन्ने तर्क मान्य नहुने बताए । उनले असंवैधानिक कदम चाल्नेले नै त्यसको संवैधानिक निकास दिनुपर्नेमा जोड दिए ।
ओलीले आफ्नो पार्टीको प्रतिनिधि सभा पुनःस्थापनाको माग ुसत्यु भएको दाबी गर्दै यसको पक्षमा आम नेपाली जनतालाई सशक्त रूपमा उभिन र आन्दोलनमा उत्रन समेत आह्वान गरे ।
अध्यक्ष ओलीको भनाइ थियो, ‘असंवैधानिक ढङ्गले विघटन गर्नसक्ने, पुनस्स्थापना गर्न नसक्ने भन्ने हुन्छ राष्ट्रपतिलेरु पुनःस्थापना गर्नुपर्यो नि। विघटन गर्ने राष्ट्रपतिले पुनस्स्थापना गर्नु पर्यो। यस कुरामा हामी लेख्न सक्नु पर्दछ। बोल्न सक्नुपर्दछ। सत्यको पक्षमा उभिन सक्नुपर्दछ ।’
ओलीले प्रतिनिधि सभा विघटनको कदमपछि बनेको वर्तमान सरकारलाई समेत पुनः असंवैधानिक भएको दोहोर्याए । उनले वर्तमान सरकारको कुनै हैसियत नभएको भन्दै संसद् पुनःस्थापना नै संवैधानिक निकास भएको तर्क गरे ।
























