
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले संसद् पुनर्स्थापनाको पक्षमा हस्ताक्षर अभियान सुरु गरेका छन् । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले वर्तमान सरकार गठन र संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेपछि उनीहरूले यो कदम चालेका हुन् ।
प्रतिनिधिसभाका विघटित सदस्य श्यामकुमार घिमिरेले यो हस्ताक्षर अभियान न्यायालयको ढोका ढकढक्याउनका लागि सुरु गरिएको जानकारी दिए । कांग्रेसले संसद् पुनर्स्थापना गर्ने वा निर्वाचनमा जाने भन्नेबारेमा अहिलेसम्म कुनै निर्णय नगरेको उल्लेख गर्दै उनले तर, केन्द्रीय कार्यसम्पादन समितिले विघटन असंवैधानिक र अलोकतान्त्रिक हो भनिसकेपछि न्यायका लागि अदालत जानुपर्छ भनेर यो अभियान चलाइएको बताए ।
निवर्तमान सांसदहरूले तयार पारेको हस्ताक्षरको सूची पार्टी नेतृत्वलाई बुझाइने भएको छ । प्रतिनिधिसभा गत २७ भदौमा विघटन गरिएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि संसद्बाट सरकार बन्ने अवस्था नभएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरेका थिए ।
अन्तरिम सरकारले आगामी फागुन २१ मा चुनावको मिति घोषणा गरेको छ । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा १६ वटा निवेदन परिसकेका छन् र अदालतले कारण देखाउ आदेश जारी गरिसकेको छ ।
प्रमुख प्रतिपक्षी दल एमालेले पनि प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने बताउँदै आएको छ ।
























