
काठमाडौँ । नेकपा (एमाले) ले विघटित प्रतिनिधि सभाका सांसदहरूको भेला बोलाएको छ । नेकपा एमाले संसदीय दलका तत्कालीन प्रमुख सचेतक महेश बर्तौलाले आगामी मंसिर २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा उक्त बैठक आयोजना गरिएको जानकारी दिएका छन् ।
बर्तौलाका अनुसार, मुलुकमा विकसित अहिलेको ‘असामान्य र जटिल परिस्थिति’ तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागि निर्वाह गर्नुपर्ने भूमिकाका सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको हो । एमालेले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै पुनर्स्थापनाका लागि आन्दोलन गर्दै आएको छ ।
सोही अनुसार एमालेले कात्तिक २२ गते देशभरका वडा कार्यालय, कात्तिक २५ गते देशभरका गाउँपालिका तथा कात्तिक २९ गते जिल्ला सदरमुकाममा प्रदर्शन तथा भेला सम्पन्न गरिसकेको छ । एमालेले काठमाडौँ उपत्यकामा मंसिर ६ गते विशाल प्रदर्शन गर्ने तयारी गरेको छ । प्रतिनिधि सभा पुनर्स्थापनाका लागि दबाब दिन एमालेले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन पनि गरिरहेको छ।
जेनजी विद्रोहपछि गठित सुशीला कार्की नेतृत्वको सरकारले गत भदौ २७ गते प्रतिनिधि सभा विघटन गर्दै आगामी फागुन २१ गते निर्वाचनको मिति तोकेको थियो । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा अहिले मुद्दा विचाराधीन छ ।
























