
विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीहरूले कृषि र स्मार्ट शहरका लागि नयाँ प्रविधि विकास गरेका छन् । मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकका अन्तिम वर्षका विद्यार्थीहरूले कृषि कार्यका लागि ‘स्मार्ट हार्वेस्ट मेसिन’ बनाएका हुन् ।
यो मेसिनले धान काट्ने, धान झार्ने, मल/पानी छर्ने र जोत्ने जस्ता काम गर्न सक्छ । इलेक्ट्रिक इन्जिनियरिङका विद्यार्थीहरूले रिमोटबाट चल्ने यो मेसिनको सफलतापूर्वक प्रदर्शन गरेका थिए ।
सोही विश्वविद्यालयका इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङका विद्यार्थीहरूले स्मार्ट सिटीका लागि सोलारबाट चल्ने ‘पोडवे’ र विषादी छर्ने मेसिन पनि निर्माण गरी प्रदर्शन गरेका छन् ।
सिभिल इन्जिनियरिङका विद्यार्थीहरूले भूकम्प प्रतिरोधी घरका मोडेल, आधुनिक धर्मशाला, मल्टिपर्पज कम्प्लेक्स र व्यापारिक मलका ७ वटा डेमो प्रस्तुत गरे । आईटी विभागका विद्यार्थीहरूले अनुहार पहिचान गर्ने हाजिरी प्रणाली, स्मार्ट अलर्ट सिस्टम, स्मार्ट रोबोट र ताला लगायत ६ प्रकारका प्रणालीहरू प्रदर्शन गरेका थिए ।
मेकानिकल इन्जिनियरिङका विद्यार्थीहरूले घुमफिर गर्ने होचो अनलोड बोगी (कार), अटोमेटिक वासिङ मेसिन र अटोमेटिक राइस प्लान्टर जस्ता उपकरणहरू प्रदर्शन गरेका थिए ।
मनमोहन पोलिटेक्निकका प्राचार्य सुदीप अधिकारीले विद्यार्थीले बनाएका उपकरणको व्यावसायिक प्रयोगमा निजी तथा सरकारी क्षेत्रबाट चासो नदेखाउँदा गोदाममा थन्किएको बताए । विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेल, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूले यी परियोजनाहरूको अवलोकन गरेका थिए ।




















