
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनको तयारीबारे निर्वाचन आयोगसँग विस्तृत जानकारी लिएकी छन् ।
सिंहदरबारमा बुधबार भएको भेटवार्तामा आयोगका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री कार्कीले अहिलेसम्मको तयारी र आगामी कार्यसूचीबारे जानकारी लिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । यसै क्रममा प्रधानमन्त्री कार्कीले मतदाता नामावली दर्तामा देखिएका समस्या समाधानका लागि आयोगले गरेका प्रयासमा चासो देखाएकी थिइन् ।
उनले तोकिएको समयमै निर्वाचन सम्पन्न गर्न सबै सरोकारवालाको सहयोग आवश्यक रहेको पनि स्पष्ट पारेकी छन् । आयोगका प्रवक्ता भट्टराईका अनुसार निर्वाचन आयोगले तीव्र गतिमा निर्वाचन तयारी अघि बढाइरहेको छ । यस सम्बन्धमा सरकारलाई निरन्तर अपडेट गराउने काम भइरहेको उनको भनाइ छ ।
























