मधेशका सभामुख रामचन्द्र मण्डल ।जनकपुरधाम । मधेश प्रदेशसभामा सभामुखविरुद्ध अविश्लासको प्रस्ताव दर्ता भएसँगै लफडा भएको छ । बिहीबार साँझ अवस्था तनावपूर्ण बनेको हो ।
सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने क्रममा उत्पन्न तनावले हिंसात्मक रूप लिँदा सभामुख स्वयंले २ जना सांसदमाथि हातपात गरेका छन् । ७ दलीय गठबन्धनका सांसदहरू सभामुख मण्डलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न प्रदेशसभा सचिवालय पुगेका बेला सभामुखको बचाउमा नेकपा (एमाले)का सांसद र कार्यकर्ताहरूले अवरोध गरेका थिए ।
त्यही बीचमा सभामुख मण्डलले आफ्नै सचिवालयभित्र लोसपा सांसद उपेन्द्र महतो र जनमत पार्टीका सांसद महेश यादव लाई हातपात गरेका हुन् । स्रोतका अनुसार एमालेका केही सांसद र कार्यकर्ताहरूले ७ दलका अन्य सांसदहरूमाथि समेत धकेलाधकेल र दुर्व्यवहार गरेका थिए ।
स्थिति नियन्त्रणबाहिर जाँदै गर्द सचिवालयभित्र रहेका कर्मचारीहरूले आकस्मिक रूपमा बत्ती निभाइदिएका छन् । प्रहरीहरूले ढोका बाहिरबाट ताल्चा लगाइदिएका छन् । त्यसपछि ७ दलका सांसदहरू बन्धकजस्तै अवस्थामा छन् ।
सांसदहरूको भनाइअनुसार बत्ती निभाइएपछि सचिवालयभित्र कराउने, धकेलाधकेल र धम्की दिने क्रम जारी छ । सभामुख पक्षका व्यक्तिहरूले अविश्वास प्रस्ताव दर्ता हुन नदिने उद्देश्यले बल प्रयोग गरेको आरोप विपक्षी दलहरूले लगाएका छन् ।
७ दलीय गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमत पार्टी, लोसपा, जसपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् । यी दलहरूले सभामुख मण्डलले प्रदेशसभाको नियम, मर्यादा र तटस्थताको उल्लंघन गर्दै लगातार पक्षपाती व्यवहार गरेको भन्दै अविश्वास प्रस्ताव ल्याएका थिए ।
तर, प्रस्ताव दर्ता गर्ने प्रक्रियामै सभामुख स्वयं हातपातमा उत्रिनु र प्रदेशसभाको सचिवालयलाई तानातान, ढोका बन्द र बत्ती निभाउने घटनाले मधेश प्रदेशको राजनीतिलाई फेरि संकटतिर धकेलेको छ । अहिले सचिवालय परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने सांसदहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयास भइरहेको बताइन्छ ।
घटना सार्वजनिक भएपछि जनमत पार्टी र लोसपाले सभामुख मण्डलको तत्काल राजीनामा माग गरेका छन् । उनीहरूले सभामुखमाथि कानुनी कारबाही हुनुपर्ने मागसमेत राखेका छन् ।
यसबीच एमाले पक्षका केही सांसदहरूले भने सभामुखमाथि गरिएको अविश्वास प्रस्ताव अवैध र योजनाबद्ध ‘राजनीतिक षड्यन्त्र’ भएको दाबी गरेका छन् । उनीहरूले विपक्षी दलहरूले कार्यसूचीविपरीत हतारमा प्रस्ताव ल्याएर विवाद सिर्जना गर्न खोजेको आरोप लगाएका छन् ।
प्रदेशसभाको वातावरण अहिले पनि तनावग्रस्त छ । सभामुखको सचिवालयभित्र सांसदहरूलाई सुरक्षित राख्न प्रहरी र प्रशासनले पहल गरिरहेको बताइए पनि घटनास्थल वरपर चर्को नाराबाजी भइरहेको छ ।
























