
काठमाडौं । निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा र माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गराउन आयोगले आह्वान गरेको हो ।
आयोगले शुक्रबार दुवै चुनावका लागि अलगअलग सूचना जारी गरेको छ । सूचनामा मंसिर १ देखि १० गतेसम्म प्रतिनिधिसभा सदस्य र मंसिर १ देखि ७ गतेसम्म राष्ट्रियसभाका लागि दल दर्ता गर्न आह्वान गरिएको छ ।
आयोगले राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची–१२ बमोजिम ढाँचामा निर्वाचन आयोगमा दल दर्ता गराउनुपर्ने उल्लेख गरेको छ । दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालय रहेको ठेगाना ,पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल र वेबसाइटको विवरण खुलाउनुपर्ने आयोगले जनाएको छ ।
























