देशव्यापी शक्ति प्रदर्शन गर्दै एमाले, शीर्ष नेताहरू जिल्लामा खटिए

Share this
770shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २९, शनिबार १०:१०

काठमाडौं । नेकपा (एमाले)ले आज (शनिबार) देशभर शक्ति प्रदर्शन गर्दैछ । जनसभालाई पार्टीले आफ्नो राजनीतिक पुनःसक्रियता र संगठनात्मक शक्ति प्रदर्शनको अवसरका रूपमा उपयोग गर्ने बताइएको छ ।

‘प्रतिगामी कदम र अस्थिरताविरुद्ध जनपरिचालन’ नाम दिएर गर्न लागिएको कार्यक्रमअन्तर्गत सबै जिल्ला सदरमुकाम र प्रमुख सहरहरूमा एकैदिन जनसभा हुँदैछ । यसलाई सफल बनाउन केन्द्रीय नेतृत्वदेखि जिल्ला इन्चार्जसम्म परिचालन गरिएको एमालेले जनाएको छ ।

पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार यसअघि कात्तिक २२ गते देशभर वडा भेला सम्पन्न गरिएको थियो भने कात्तिक २५ गते अधिकांश पालिकामा जनप्रदर्शन तथा र्‍याली गरिएको थियो । तेस्रो चरणको कार्यक्रमअन्तर्गतको जनसभाबाट पार्टीले देशभर आफ्नो लोकप्रियता, संगठनहरूको सक्रियता र नेताहरूको उपस्थितिलाई स्पष्ट रूपमा देखाउने अपेक्षा राखिएको छ ।

उनका शब्दमा, ‘सबै जिल्लामा जिम्मेवार नेताहरू खटाएका छौँ । शनिबारको सभाबाट एमाले अझै पनि सबैभन्दा संगठित र लोकप्रिय शक्ति हो भन्ने सन्देश देशभर पुग्ने छ ।’ एमालेले अन्तिम चरणका रूपमा आगामी मंसिर ६ गते काठमाडौंमा विशाल शक्ति प्रदर्शन गर्दै देशव्यापी जनपरिचालन अभियानलाई समापन गर्ने तयारी गरेको छ ।

नेताहरुका अनुसार त्यो कार्यक्रम पार्टीको एकता, संगठन शक्ति र जनआधारलाई राजधानीमै स्पष्ट रूपमा देखाउने निर्णायक अवसर हुनेछ । शनिबारको जनसभालाई लक्षित गरेर मुख्य नेताहरुलाई विभिन्न जिल्लामा खटाइएको छ ।

महासचिव शंकर पोखरेलले नेपालगञ्जको जनसभालाई सम्बोधन गर्दैछन् । त्यसैगरी उपमहासचिव प्रदीप ज्ञवाली गुल्मी पुगेका छन् भने उपमहासचिव पृथ्वी सुब्बा गुरुङले लमजुङको आमसभा सम्बोधन गर्दैछन् । रुपन्देहीमा सचिव छविलाल विश्वकर्माको कार्यक्रम तय भएको छ भने झापाको बिर्तामोडमा सचिव पद्ध्मा अर्याल मुख्य वक्ताका रूपमा सहभागी हुँदैछन् ।

उता कोशी प्रदेशका मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्की धनकुटामा आयोजना भएको जनसभाका मुख्य वक्ता बन्ने कार्यक्रम छ । सबै सभालाई एमालेले आगामी संगठन विस्तार, स्थानीय तहमा सक्रियता र प्रदेश राजनीतिमा आफ्नो उपस्थिति मजबुत बनाउन महत्वपूर्ण कदमका रूपमा लिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.